काठमाडौं महानगरपालिकाले २६ वटा पसलले कालोबजारी गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको छ।
विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसल भेटिएकाले ती पसललाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्।
महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो। साथै, दाल चामललगायतका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो।
यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्ये २६ वटा उपभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई कसुरको आधारमा कारवाही गर्न विभागलाई लेखेर पठाएको उपमेयर खड्कीले जानकारी दिइन्।
उनले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन्। यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उनले बताइन्।
२२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि उनले बताइन्।
उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सिर्जना गरी १ सय ३० रुपैयाँमा बिक्री वितरण गरेको उनले बताइन्। प्याजमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए।
उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाफर्त प्रति केजी ६० रुपैयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद् गर्न पाउने गरी बिक्री गरेको थियो।