मक्काबी हाइफाविरुद्ध टोटनह्यामकाे ७–२ को जित, केनले हाने ह्याट्रिक

ह्यारी केनले ह्याट्रिक प्रहार गरेपछि टोटनह्यामले युरोपा लिग छनोटको प्लेअफमा मक्काबी हाइफालाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ।

टोटनह्यामले खेलको दोस्रो मिनेटमा नै केनको गोलमा अग्रता लिएको थियो। १७औँ मिनेटमा जारोन चेरीले झन्डै २५ यार्ड टाढाबाट सानदार गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको ३ मिनेटपछि नै टोटनह्यामले लुकास मोउराको गोलमा अग्रता लियो।

३६औँ मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै लो सेल्सोले व्यक्तिगत दोस्रो गोल थपे। 

दोस्रो हाफको सुरुवातमा हाइफाले पेनाल्टी पायो। म्याट डोहर्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा निकिता रुकविस्ताले गोल गर्दै गोलको अन्तर घटाए। तर ४ मिनेटपछि टोटनह्यामले पनि ह्यान्डबलकै कारण पेनाल्टी पायो। केनले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे।

खेलको ७४औँ मिनेटमा केनले आफ्नो ह्याट्रिक पूरा गरे।  दोस्रो हाफमा मैदान छिरेका डेले अलीले इन्ज्युरी समयमा अर्को गोल थपे। पेनाल्टी क्षेत्रभित्र डेलेलाई लडाएपछि उनी आफैंले प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

यस जितसँगै टोटनह्यामले युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ। समूह चरणको ड्र शुक्रबार न्योनस्थित यूईएफए मुख्यालयमा हुँदैछ।

प्रकाशित मिति: : 2020-10-02 06:42:07

प्रतिकृया दिनुहोस्