चलचित्र चाँडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा म छैन: दीपक

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाँडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन्।

कोरोना संक्रमितको संख्या झनै बढ्दै गएकाले पनि चलचित्र चलाउन निर्माता आतिहाल्न नहुने दीपकको तर्क छ।

‘कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार छैन। यसैले, यसमा हतार गर्नुपर्छ भन्ने सोचमा हामी छैनौं,’ मिडियासँग कुरा गर्दै दीपकले भने।

यसैले, आफूहरु फटाफट चलचित्र बनाउनुपर्छ भन्ने पक्षमा नभएको दीपकको भनाई छ।

‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने। ताप्के मात्र तातेर हुँदैन। चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ। चलचित्र भनेको मनोरञ्जन हो। यो मानिसका आधारभुत आवश्यकता पुरा भएपछि मात्र जोडिने कुरा हो,’ उनले भने।

सरकारले लकडाउन अन्त्य गरेसँगै चलचित्र विकास बोर्डमा मात्र १८ वटा चलचित्रले निर्माणको इजाजत लिइसकेका छन्। सरकारले अनुमति दिएसँगै छायांकन सुरु गर्ने योजना उनीहरुको छ। तर, दीपक–दीपाको टिमले तत्काल चलचित्र बनाइहाल्ने सोच नबनाएको बताएको छ।

तर केही चलचित्रका निर्माताहरुले मिडिया मार्फत चलचित्र निर्माणको घोषणा गरिसकेका छन्। 

प्रकाशित मिति: : 2020-10-02 12:08:26

प्रतिकृया दिनुहोस्