मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी (जसपा)नेपालका नेता डा. बाबुराम भट्टराई पुगेका छन्।
विभिन्न एक दर्जन सञ्चारमाध्यमले कोभिड-१९ को बहानामा पत्रकार तथा कर्मचारी निष्काशन गरेपछि रिले अनसन थालेका छन्। ऐक्यवद्धता जनाउन पूर्वप्रधानमन्त्री भट्टराई शनिबार साढे ११ बजे बानेश्वर पुगेका थिए।
उनले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए।
'सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दु:खद् हाे,' भट्टराईले भने, 'श्रमजीविहरूको आवाज सुन्न पर्छ, मिडिया हाउसहरूले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपारुन्।'
कोभिड-१९ को बहानामा अहिले राजधानीका साढे तीन सय कर्मचारी तथा पत्रकारलाई मिडिया हाउसले निष्काशन गरेका छन्। यसरी निष्काशन गर्ने मिडिया हाउसमा अन्नपूर्ण पोष्ट, कान्तिपुर, कारोबार, नागरिक, माउन्टेन टिभी, नयाँ पत्रिका, एभिन्यूज, न्यूज २४, नेपाल आज अनलाइन, राजधानी, उज्यालो एफएम र समाचार पत्र दैनिक रहेको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले बताए।
पत्रकारहरु सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता भुक्तानी, अनावश्यक सरुवा र निष्काशन फिर्ता लिनुपर्ने, ६ महिना काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, श्रमजीवि पत्रकार ऐन लागू कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारबाही गर्नुपर्ने मागसहित रिले अनसन बसेका छन्।
जैसीलेका अनुसार यो पाँच दिने रिले अनसनपछि आन्दोलनका कार्यक्रम छन्। २१ गते अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनमा एक घन्टा घेराउ गर्ने कार्यक्रम छ। २२ गते कान्तिपुर मिडिया ग्रुप र कारोबार दैनिक, २३ गते नागरिक दैनिक २४ गते नेपाल आजमा एक घन्टा धर्ना दिने कार्यक्रम छ।
२५ गते सूचना विभाग र न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा लाल्टिन बालेर प्रदर्शन गर्ने र २७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम छ।
अनसन बस्नेमा कारोबारका धर्मेन्द्र कर्ण, अन्नपूर्णका विकास कार्की, नागरिकका सुविद गुरागाईं, डिल्ली आचार्य, करण बडाल, श्रीराम वाग्ले, विपेन्द्र कार्की, अमृत भादगाउँले, निर्मला बस्नेत, संकेत कोइराला, विष्णु केसी, गोविन्द देवकोटा, किरण आचार्य छन्।
यस्तै, सविन महर्जन, ध्रुव रिजाल, सुशील पोखरेल, भुवन पौडेल, उम्तम ओझा, ढकप्रसाद खतिवडा, राजन तामाङ, विश्वराज खनाल, राम निरौला, निमा लामा, डुक्पाछिरिङ मोक्तान, हेमा शर्मालगायत छन्।