सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तीव्र गतिमा बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दसैँतिहार नजिकिएसँगै भीडभाड हुने भएकाले सरकारले यो अवस्थामा अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा यो पटक जहाँ छौँ, त्यही दसैँ मनाउन आग्रह गरे।
‘कोरोना संकट गहिरिँदो छ, त्यसैले यो वर्षको दसैँ जहाँ बसेका छौँ, त्यहीँ रहेर मनाऔँ,’ प्रवक्ता गौतमले भने, ‘यो सबैलाई आग्रह हो । यस पटकको दसैँमा घर जान बल नगरौँ ।’
उनले स्वास्थ्य मापदण्डलाई कडाइ गर्दै जरिमाना गर्ने गरी प्रस्ताव गरिएको समेत जानकारी दिए । आज मात्र नेपालमा २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । जसमध्ये देशभर अहिले २२ हजार २ सय १९ सक्रिय संक्रमित छन् ।