म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएकाे खेलमा टोटेनहमसँग लज्जास्पद हार व्यहोरेको छ।
टाेटनह्यामकाे घरेलु मैदानमा भएकाे खेलमा युनाइटेड पहिलो हाफमा नै ४–१ को फराकिलो स्काेरले पछाडि परेकाे थियाे भने दाेस्राे हाफमा थप २ गाेल खायाे।
खेलको २९औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो। एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
जसलाई ब्रुनो फर्नान्डेसले सदुपयाेग गरेका थिए। तर टोटनह्यामले अप्रत्याशित पुनरागमन गर्याे।
खेलको चौथो मिनेटमा नै टांगी एन्डोम्बेलेले खेल बराबरीमा ल्याए।
त्यसको तीन मिनेटपछि ह्यारी केनले छिटो लिएको फ्रिकिकमा ह्युङ मिन सनले सहजै गोल गरे।
खेलको २८ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो। कर्नरको तयारी गर्ने क्रममा मार्सियलले लामेलामाथि हात उठाएपछि रेफ्रीले रातो कार्ड दिए।
त्यसको दुई मिनेटमा नै टोटेनहमले अग्रता दोब्बर पार्याे। केनले गोल गर्दै ३–१ को स्कोर बनाए। ३७औँ मिनेटमा सनले गोल गर्दै ४–१ को अग्रता दिलाए।
५१औँ मिनेटमा सर्जी अरियरले गोल गर्दै टोटेनहमलाई ५–१ को अग्रता दिलाए।
त्यसपछि ७९औँ मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को सानदार जित दिलाए।
जितसँगै टोटेनहम ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। टोटेनहको यो दोस्रो जित हो।
युनाइटेडको यो दोस्रो हार हो। ३ खेलमा ३ अंक जोडेको युनाइटेड १६ औं स्थानमा रहेको छ।