लेवान्डोस्की एक्लैकाे चार गोलमा वायर्नको रोमाञ्चक जित

रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेसलिगामा साविकको विजेता वायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ।

घरेलु मैदानमा वायर्नले हर्था बर्लिनमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो। हर्थाका जोन कोर्डोवा, म्याथुस कुन्हा र जेसिक नागनकमले गोल गरेपनि हार टार्न सकेन।

एलिएन्ज एरिनामा आइतबार राति भएको खेलको ३६औँ मिनेटमा थोमस मुलरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन।

तर, ४०औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो। उनले सर्ज जिनब्रीको पासमा गोल गर्न सफल भएका थिए।

५१औँ मिनेटमा लेवान्डोस्कीले क्रिस रिचार्ड्सको पासमा गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे। 

तर,५९औँ मिनेटमा म्याथुस कुन्हाको पासमा जोन कोर्डोबाले गोल गर्दै हर्थालाई खेलमा फर्काउने संकेत दिएका थिए। ७१औँ मिनेटमा क्रेजस्टफको पासमा म्याथुस कुन्हाले गोल गर्दै खेललाई २–२ गोको बराबरीमा ल्याए।

८५औँ मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि वायर्नले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो। ८८औँ मिनेटमा जेसिक नागनकमले गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा ल्याए।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत व्यत्तिगत चौथो गोल गरेपछि वायर्नले ४–३ को रोमाञ्चक जित निकाल्न सफल भयो। 

जितसँगै वायर्न तीन खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। पराजि हर्था ३ अंकसहित १३औँ स्थानमा छ।

प्रकाशित मिति: : 2020-10-05 06:45:23

प्रतिकृया दिनुहोस्