प्रहरीको बदमासी : बलात्कार प्रयासको उजरी कुटपिट शीर्षकमा दर्ता

१९ असोज, सप्तरी । सप्तरीको खडक नगरपालिकामा मिलापत्र गरेर लुकाउन खोजिएको बलात्कार प्रयास घटनामा नयाँ तथ्य बाहिर आएको छ । घटनापछि पीडित परिवार उजुरी दिन प्रहरी कहाँ जाँदा कुटपिट शीर्षकमा उजुरी दर्ता गरेको पाइएको छ ।

२५ भदौमा खडक नगरपालिका वडा नम्बर १० का ३ जना युवकले लालपुरकी १७ र १६ बर्षीया महिलाको बलात्कार प्रयास गरेका थिए । घटनापछि १७ बर्षीया किशोरी र उनकी आमा २६ भदौमा उजुरी दिन इलाका प्रहरी कार्यालय कल्याणपुर पुगेकी थिइन् । किशोरीकी आमाका अनुसार आफूहरुले घटनाबारे बताएपछि प्रहरीले कुटपिट शीर्षकमा उजुरी दर्ता गरेका थिए । 

त्यसलाई टेकेर इलाका प्रहरी कार्यालय कल्याणपुरकै प्राङ्गणमा २८ भदौमा पञ्चायती बसाएर मिलापत्र गराइएको थियो । पीडित परिवारलाई रकम दिन भन्दै पीडक पक्षबाट ५ लाख ५० हजार रुपैयाँ लिएर पञ्चहरुले मिलापत्र गराएका थिए ।

नगरपालिकाका मेयर हेमायु हक, वडा नम्बर ११ का वडाध्यक्ष रामकृष्ण चौधरी, नेकपाका स्थानीय नेता शत्रुधन साह ‘आजाद’, जनता समाजवादीका परमेश्वर साह, राजाराम यादवसहितका नेता र प्रहरीले मिलापत्र गराउन भूमिका खेलेका थिए ।

तर सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले भने त्यतिबेला कुटपिटकै उजुरी आएको बताउँछन् । उनले भने, ‘बलात्कार प्रयासको उनुरी आएको भए त्यहीअनुरुप अगाडि बढ्थ्यौं ।’

प्रकाशित मिति: : 2020-10-05 14:28:50

प्रतिकृया दिनुहोस्