‘उपत्यकामा कम्तिमा ८०० आईसीयू चाहिन्छ, पर्साबाट काठमाडौंले सिकेन’

अनलाइनखबर

काठमाडौं

 बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले काठमाडौं उपत्यकामा बढिरहेको कोरोनाको ग्राफबारे चिन्ता व्यक्त गरेका छन् । यही गतिमा संक्रमितको ग्राफ बढिरहे आगामी दुई महिनाभित्र उपत्यकामा कम्तिमा ८०० आईसीयू बेड र १०० भेन्टिलेटर आवश्यक पर्ने डा. मास्केको विश्लेषण छ । तर, सरकारले विज्ञहरुको सुझावलाई ध्यान नदिएको उनको गुनासो छ ।

‘काठमाडौंमा सामुदायिक संक्रमणको बेग तीब्र हुँदै गैरहेको छ, यसले नै समग्र देशको कोरोनाको ग्राफ माथि उचालिरहेको छ’ अनलाइनखबरसँगको अन्तरवार्तामा जनस्वास्थ्यविद डा. मास्केले भने, ‘काठमाडौँलाई नियन्त्रणमा ल्याउन सकियो भने नेपालकै अवस्थामा ठूलो सुधार हुनेछ ।’

नेपालले आफ्नै देशमा कोरोना नियन्त्रणका राम्रा अनुभवहरु हासिल गरेको डा. मास्के बताउँछन् । तर, यी महत्वपूर्ण अनुभवहरुबाट काठमाडौंले शिक्षा लिन नसकेको तर्क गर्दै डा. मास्के भन्छन् ‘विशेषतः पर्सा जिल्लाका अति महत्वपूर्ण पाठहरुबाट काठमाडौँले शिक्षा लिएको देखिएन । संक्रमितहरु पहिचान गर्न पीसीआर परीक्षणमा भएको क्षमतावृद्धि प्रशंशनीय भए पनि संक्रमितहरुको व्यवस्थापनमा ठूला त्रुटिहरु भए र भैरहेका छन् । त्यसमा हामी चुकेका छौं र फेरि पनि चुक्दैछौं । काठमाडौँ यस चुक्ने उदाहरणको अग्रपंक्तिमा छ ।’

डा. मास्के नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख हुन् । मास्केको नेतृत्वमा प्रतिष्ठानले नेपालको कोरोना संक्रमणबारे सुरुदेखि नै नियमित अध्ययन, अनुसन्धान र विश्लेषण गरिरहेको छ । गत असारमा अनलाइनखबरले डा. मास्केसँग नेपालमा देखिएको कोरोना संक्रमणको चरित्रबारे लामो कुराकानी गरेको थियो । (हेर्नुहोस् अन्तरवार्ता) सो अन्तरवार्तामा डा. मास्केले नेपालमा कोरोना समुदायस्तरमा फैलिइनसकेको विश्लेषण गरेका थिए । साथै नेपालमा मृत्युदर कम भएको र कोरोनाको फैलावट डढेलोजसरी नभएर आगोको झिल्कोजस्तो मात्रै देखिएको डा. मास्केको विश्लेषण थियो ।

तर, असारपछि बितेका तीन महिनामा नेपालमा कोरोना फैलावटका विशेषता के–कस्ता देखिएका छन् ? अहिले लकडाउन र निशेधाज्ञा तोडिएको अवस्था छ र दशैं–तिहारजस्ता चाडबाड आउनै लागेका छन् । यस्तोबेलामा खासगरी काठमाडौंमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । अब आगामी दिनमा संक्रमणको जोखिम कस्तो होला ? सरकार र आम जनताले के कुरामा ध्यान दिनुपर्ला ? यिनै विषयमा केन्द्रित रहेर हामीले डा. मास्केसँग गत असारकै अन्तरवार्ताको पूरक अन्तरवार्ताका रुपमा दोस्रोपटक कुराकानी गरेका छौं ।

प्रकाशित मिति: : 2020-10-06 16:45:56

प्रतिकृया दिनुहोस्