मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाको जित

कप्तान लिओनल मेसीको पेनाल्टी गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा विजयी सुरुवात गरेको छ। 

शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो।

खेलको १३औँ मिनेटमा मेसीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

पहिलो खेलमा जित निकाल्दै अर्जेन्टिनाले तालिकामा तीन अंक जोडेको छ।

अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ। सोही दिन इक्वेडरले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो। अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए।

विश्वकप छनोट अन्तर्गत अर्को खेलमा पाराग्वे र पेरुले २–२ को बराबरी खेले ‌। उरुग्वेले चिलीलाई २–१ ले‌ पराजित गर्‍यो। उरुग्वेको जितमा लुइस सुआरेज र म्याक्सी गोमेजले १–१ गोल गरे।

प्रकाशित मिति: : 2020-10-09 08:44:33

प्रतिकृया दिनुहोस्