सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ।
ब्राजिलले घरेलु मैदानमा शनिबार बिहान भएकाे खेलमा बोलोभियालाई ५–० ले पराजित गरेको हो।
ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल तथा फिलिपे कोउटिन्हो र मार्किन्हसले १–१ गोल गरे। एक गोल भने आत्मघाती गोल रहयो।
खेलको १६ औं मिनेटमा नै ब्राजिलले अग्रता लिएको थियो। डिफेन्डर ड्यानीलोको क्रसमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।
३० औं मिनेटमा फिर्मिनोले अग्रता दोब्बर पारे।
दोस्रो हाफको सुरुवातमै ब्राजिलले अग्रता बढायो। ४८ औं मिनेटमा नेयामारको क्रसमा फिर्मिनोको प्रहार गोलरक्षकको खुट्टा मुनिबाट छिर्दै गोलमा परिणत भएको थियो।
६६ औं मिनेटमा ब्राजिलले ४-० को अग्रता लियो। कोउटिन्होको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोको पेटमा लाग्दै गोल भएको थियो।
७३ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ५ गोलको अग्रता दिलाए। उनले नेयमारको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए।
दक्षिण अमेरिकी छनोटमा पहिलो चरणको खेल समापन हुँदा ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ। ब्राजिलसँगै कोलम्बिया, उरुग्वे र अर्जेन्टिनाले पनि आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्। गोल अन्तरको आधारमा ब्राजिल अगाडी रहेको छ।
छनोटको दोस्रो चरणमा बोलिभियाले अर्जेन्टिनाको सामना गर्दैछ। मंगलबार हुने खेलमा इक्वेडर र उरुग्वे तथा भेनेजुएला र पाराग्वे खेल्नेछन्। पेरुले ब्राजिलको सामना गर्दै चिली र कोलोम्बियाबीच प्रतिस्पर्धा हुनेछ। छनोटको अन्त्यमा शीर्ष ४ मा रहने टोली सिधै विश्वकपमा खेल्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्नेछ।