जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार जाँचपास भई वीरगञ्जबाट काठमाडौं जान लागेको ट्रकबाट ठूलो परिमाणमा रहेको लागुऔषधऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
चेकजाँचको क्रममा प्रहरीले लागुऔषधऔषध वीनसिरेक्स १ हजार २ सय ६ बोतल र नुरफिन, फेनारगन, डाईजेपामको ८ सय ९१ एम्पुल बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ स्थित रामगढवा सडक खण्डमा इलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट खटिएको गस्ती टोलीले वीरगञ्ज आईसिपी भन्सार जाँच पास भई काठमाडौ जान लागेको एचआर ३८ भि ४८९५ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा सो ट्रकको चालक क्याविनबाट लुकाई राखेको अवस्थामा लागुऔषधऔषध नुर्फिन २ सय ९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन गरि ८ सय ९१ एम्पुल इन्सेक्सन र वीनसिरेक्स १०० एमएलकोे १ हजार २ सय ६ बोत्तल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् ।
प्रहरीले ट्रकका चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने २० बर्षिय बिक्रान्त पटेल र सोही ट्रकमा सवार रक्सौल निवासी २८ बर्षिय रामबालक राम र २० बर्षिय आकाश कुमार राम समेतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पन्तले बताइन्।
अभियुक्तहरुलाई आज जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरि लागुऔषधसहित सार्वजनिक गरिएको थियो।
पक्राउ परेकाविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुऔषधसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत पर्सामा आज दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरिक्षक पन्तले बताइन्।
लागुऔषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दफा १४ (१) को (झ) अनुसार अभियुक्तलाई २ वर्षदेखि १० वर्षसम्म कैद र एक देखि बीस लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको पन्तले बताए।