पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासि आगलागी भएको छ।
सोमबार बिहान सवा तीन बजे हेटौंडाबाट काठमाडौ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा थाक्रे गाउँपालिका–१ ढाँडे सिम्ले आइपुग्दा आगो लागेको हो।
प्रहरीका अनुसार हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याइदै थियाे। साेही क्रममा तार सट भएर आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ।
आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ।
बसमा १७ जना यात्रु रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षण भोजराज पाण्डेले जानकारी दिए।
उनका अनुसार आगलागीबाट बसमा पूर्ण रुपमा क्षति पुगे पनि सबै यात्रु सुरक्षित रहेका छन्।
बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ।
धुनीवेसी नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टा लगाएर आगो निभाइएको थियो।