पार्कको नाममा भष्ट्राचार: बनिनसक्दै भत्किए ५० लाखका ४ पर्खाल, सांसददेखि समितिसम्म ‘सेटिङ’

स्थानीय सरकारबाट विनीयोजित बजेटमा भष्ट्रचार भएको समाचार दैनिक मिडियामा आउने गरेका छन्। विकासका नाममा जनप्रतिनिधिदेखि ठेकेदारसम्मको मिलोमतोमा सरकारी बजेट हिनामिना हुँदै आएको तथ्य बाहिर आइरहेका छन्।

त्यस्तै एक उदारण हो, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा रहेकोे भिमसेनगोलास्थित प्रयाग मार्गमा बनाइएको पार्क।

सरकारी जमिनमा पार्क बनाउने भन्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश संसद २ का सांसद गणेश दुलालको अग्रसरतामा गत वर्षको बजेटमा बाग्मती प्रदेश सरकारले ५० लाख रकम बिनियोन गर्‍यो।

पार्कको नाम (प्रयाग पार्क) जेष्ठ नागरिक विश्राम चौतारी भनेर नाम दिइयो।

उक्त पार्क बनाउन प्रदेश सरकारबाट बिनीयोजित ५० लाख रकम खर्च भइसकेको छ।

तर नत पार्क बनेको छ। नत त्यसको कुनै लेखाजोखानै छ। पार्क निमार्ण गर्ने ठेकेदार कम्पनी सम्पर्कमै छैन।

अहिले पार्कको बारेमा बुझ्न खोज्दा एकले अर्कोलाई दोष देखाउने गरिएको छ। पार्क निमार्ण गर्ने टोल सुधार समितिका अध्यक्षलाई पार्कको खर्चबारे बुझ्दा उनले सांसदलाई देखाउँछन्, अनि सांसदले ठेकेदार र टोलसुधार समितिलाई।

पार्कको नाममा उक्त क्षेत्रमा ४ वटा पर्खाल लगाइएको छ। र भएको पुराना रूख काटिएको छ। त्यसमा पनि एउटा पर्खाल भत्किसकेको छ। पार्कको निमार्ण गर्ने टोल सुधार समित‍िका अध्यक्ष केदार उप्रेती भने पार्क बनेको दाबी गर्छन्।

बिएल नेपाली सेवासँग कुरा गर्दै उप्रेतीले भने, ‘हामीले पार्क बनाएको हो, महेस पौडल भन्ने एक जना हुनुहुन्छ, उहाँले निमार्ण गर्नु भएको हो। तर उहाँको कम्पनीको नाम थाहा भएन।’

५० लाखको योजना बनाउने अनि निमार्ण कम्पनीको नाम थाहा नहुने भन्ने हाम्रो प्रश्नमा उनले भने,‘यो कुरा गणेश दुलाल माननीयज्यूलाई सोध्नू, मलाई थाहा भएन।

ठेकेदार महेश पौडेल र सांसद दुलालको मिलोमतोमा पार्क निमार्णमा ठूलो भष्ट्राचार भएको भन्दै स्थानीय आक्रोशित छन्। स्रोतका अनुसार पार्क निमार्ण गर्ने महेश पौडले सांसद दुलालका विश्वास पात्र हुन्। दुलालले उनकै नाममा अन्य ठाँउमा पनि यस्तै पार्कका नाममा बजेट पारेर भष्ट्राचार गर्दै आएका छन्।

उता सांसद गणेश दुलालले पार्क निमार्णकै क्रममा रहेको दाबी गरेका छन्। बिएल नेपाली सेवासँग कुरा गर्दै सांसद दुलालले भने, ‘पहिलो चरणमा पार्क निमार्णको लागि ५० लाख छुट्याइएको थियो, त्यो खर्च भयो, त्यसमा पर्खाल लगाइयो। अब एक करोडको बजेट आएको छ, काम हुँदैछ भब्य पार्क बन्छ।’

पहिलो चरणमा रूख पन्छाउँने काम भयो, पर्खाल लगाउने काम भयो, अब पार्क बनाउने चरणमा छौं, स्टीमेट अनुुसार काम हुन्छ, एक करोडको बजेट हो, कति खर्च हुन्छ हेरौं’, दुलालले भने।

पहिला पर्खाल निमार्ण गर्नेले ढलको याद नगरी निमार्ण गरेको कारण पर्खाल भत्किएको भन्दै पुरानै निमार्ण कम्पनीलाई उक्त पर्खाल फेरि लगाउन लगाउने सहमति भएको दुलालले बताए।

स्थानीयका अनुसार उक्त पार्क निर्माणका नाममा ठूलो भष्ट्रचार भएको छ।

नाम उल्लेख नगर्ने सर्तमा पार्कसँगैका एक स्थानीयले भने, ‘५० लाखको काम यस्तो हुन्छ? टोल सुधार समितिका अध्यक्ष, उप्रेती, सांसद दुलाल र निमार्ण गर्ने महेश पौडेल मिलेर पार्कको नाममा रकम हिनामिना पारेका हुन्, पहिलाको रकम खाए खाए फेरि त्यही ठाँउमा पार्कको नाममा कति खाने हुन् पत्तो छैन।’

प्रकाशित मिति: : 2020-10-13 18:20:00

प्रतिकृया दिनुहोस्