भिटोफ गण्डकीद्वारा तीनवटा नयाँ गन्तब्य घोषणा, भादगाउले गाउँ पर्यटन दूत

तस्बिरः बिएल
तस्बिरः बिएल

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले आफ्नो छैठौं वार्षिक साधारण सभा गरेको छ।

कोभिड-१९ को विश्वब्यापी महामारी र नेपालमा पनि बिकराल रूपमा फैलिएको अवस्थामा भर्चुअल प्रविधिमार्फत साधारण सभा सम्पन्न गरिएको संस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

सभाले वर्ष २०७७ का लागि तीन वटा नयाँ गन्तव्य घोषणासमेत गरेको छ। तनहुँको टुटेपानी होमस्टे, पर्वतको भुक देउराली नमुना सामुदायिक होमस्टे र बागलुङको रिगा सामुदायिक होमस्टेलाई नयाँ गन्तब्य घोषणा गरिएको पहारीले जानकारी दिए।

यस्तै सभाले भिटोफको संरचनालाई गण्डकी प्रदेशका सबै ११ वटा जिल्लामा पुर्‍याउन जिल्ला संयोजक तोकेको छ। कास्की जिल्ला संयोजकमा ताङ्तिङका प्रकाश गुरूङ चुनिएका छन्।

गाउँ पर्यटनलाई प्रचार प्रसार गरेर लामो समयदेखि योगदान दिएको भन्दै पत्रकार अमृत भादगाउँलेलाई गाउँ पर्यटन दूत घोषणा गरेको छ।

पत्रकार अमृत भादगाउले। तस्बिरः बिएल


कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गाउँको संस्कृति र प्रकृतिको व्यापक प्रचारप्रसार गरि गन्तव्यको विकासमा साधन र श्रोतको अधिकतम प्रयोग गरि आफूहरू लागिपरेको बताए।

भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश होमस्टेको पनि राजधानी भएको भन्दै संस्थाले स्थापनाकाल देखिनै तालिम, गोष्ठी तथा होमस्टे मार्टहरु संचालन गर्दै आएको स्मरण गराए।

उनले थप प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे। गाउँमा भिलेज गाइडको ब्यवस्था तथा नेपाल पर्यटन बोर्ड संग मिलेर मोबाइल एप बनाउने योजनासमेत रहेको उनले खुलासा गरे।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पहारीले भिटोफ पोखराले आगामी दिनमा अझै गाउँ गाउँमा पर्यटन पुर्‍याउन महत्वपूर्ण भूमिका निभाउने दाबी गरे। 

कार्यक्रममा गण्डकी प्रदेश भ्रमण वर्ष संयोजक जुद्ध गुरूङ, गण्डकी प्रदेश पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल, भिटोफका केन्द्रीय अध्यक्ष ध्रुब शिंखडा, तारागाउँ विकास समितिका सदस्य शिव लामिछानेलगायत सहभागी थिए।

प्रकाशित मिति: : 2020-10-13 23:16:00

प्रतिकृया दिनुहोस्