सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, चार राउण्ड हवाई फायर

 सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप भएको छ। 

राजविराज नगरपालिका १३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर भारतबाट भन्सार छलेर सामान ल्याउनेलाई रोक्न खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो। 

तस्करीको सामान आइरहेको पूर्वसूचना पाएर जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी कोइलाडी बर्साइनको टोली त्यस ठाउँमा खटिएको थियो।

झण्डै ७० जना स्थानीयले मिलेर आक्रमण गर्न खोज्दा प्रहरीले चार राउण्ड हवाई फायर गरेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए।

‘भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थिए। त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएका थिए। उनीहरुले घरेलु हतियारसहित आएकाहरु प्रहरीमाथि जाइलागेपछि हवाई फायर गर्नुपर्‍यो,’ उनले भने। 

उनका अनुसार घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको छ।

 

प्रकाशित मिति: : 2020-10-14 11:48:00

प्रतिकृया दिनुहोस्