आफ्नो मेसिन बिगारेर व्यापारीसँग अक्सिजन किन्दै वीर अस्पताल

आयोमेल

काठमाडाैं
कोरोना
नेपालमा केही सातायता कोरोना भाइरस महामारीका कारण सिकिस्त बिरामीको संख्या बढ्न थालेपछि अक्सिजन अभाव हुने देखिएको छ। 

नेपालमा केही सातायता कोरोना भाइरस महामारीका कारण सिकिस्त बिरामीको संख्या बढ्न थालेपछि अक्सिजन अभाव हुने देखिएको छ। 

तर, नेपालको जेठो अस्पताल वीरले भएको अक्सिजन उत्पादन गर्ने मेसिन पनि बिगारेर करौडौंको अक्सिजन बाहिरबाट खरिद गरी खपत गर्दै आएको छ। 

करिब सात महिनादेखि बिग्रिएको मेसिन हालसम्म सञ्चालनमा आएको छैन। 

अस्पतालका एक अधिकारीले केही व्यक्तिलाई फाइदा हुने हिसाबले मेसिन बिगारेर राखेको दाबी गरे। 

‘मेसिन ब्रिगिएको सात महिना भइसक्यो। यो विषयमा अस्पताल प्रशासनलाई केही मतलब छैन,’ ती अधिकारीले भने,‘कोरोनाले गर्दा सामान ल्याउन ढिलाइ भइरहेको बहाना देखाइरहेका छन्।’

उनका अनुसार अक्सिजन उत्पादन गर्ने मेसिनको सामान भाँचिएको अवस्थामा छ। 

तर, अस्पतालका निर्देशक डा. केदार सेन्चुरीभने मेसिन चल्दाचल्दै बिग्रिएको बताउँछन्। 

उनको दाबी छ, ‘मेसिन बिगारिएको होइन, बिग्रिएको हो।’

अस्पतालले सात महिनादेखि अक्सिजन उत्पादन गर्न नसकेको डा. सेन्चुरीले बताए। 

‘मेसिन सात महिनादेखि बिग्रिएको छ। के पार्ट बिग्रिएको हो, प्राविधिक कुरा मलाई थाहा हुँदैन,’ डा. सेन्चुरीले भने, ‘सामानपनि फ्रान्सबाट ल्याउनुपर्ने र मर्मत मूल्य पनि धेरै पर्ने भएका कारण सञ्चालनमा ल्याउन सकिएको छैन।’

अक्सिजन प्लान्ट मर्मत गर्न३५ लाख रुपैयाँहाराहारी खर्च लाग्ने सेञ्चुरीको भनाइ छ। 

‘मेसिन ब्रिगिनुअघि अस्पतालमा उत्पादन भएको अक्सिजनले नै बिरामीलाई धान्ने गरेको थियो। केही समस्या आएको बेलामा मात्रै सिलिन्डर प्रयोग हुन्थ्यो,’ उनले भने।

हालअस्पतालमा ९० देखि १ सयवटा सिलिन्डर खपत हुने गरेको प्रशासनको तथ्यांक छ। 

‘पहिलाको टेन्डरमा १ सय ७५ रूपैयाँप्रतिसिलिन्डर थियो। अहिले बजारमा सजिलै उपलब्ध छैन। एक सिलिन्डरकै ४ सय भन्दै आएका छन्,’ डा. सेञ्चुरी भन्छन्, ‘अहिलेसम्म पुरानो दरमा ल्याइरहेका छौं। तर, सप्लायर्सले हामीले ल्याउन सक्दैनांै भनेर निवेदन दिएका छन्।’
अस्पताल प्रशासनका अनुसार मेसिनले वार्षिक १ करोड रुपैयाँबराबरको अक्सिजन उत्पादन गर्दै आएको थियो। 
सञ्चालन भएको एक वर्षमै बिग्रियो 

अस्पतालले दुई वर्षअघि अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको थियो। 

तत्कालीन समयमा अस्पतालले उक्त मेसिन २ करोड ६६ लाखमा खरिद गरेको थियो। 

उक्त मेसिनले प्रत्येक दिन १ सय ५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता रहेको अस्पताल प्रशासनले जनाएको छ। 
तत्कालै मेसिन सञ्चालनमा ल्याउन नसकिने डा. सेञ्चुरी बताउँछन्। 

‘बाहिरबाट सामान ल्याउन सकिएको छैन। ठ्याक्कै मिति त तोक्न सकिँदैन,’ सेञ्चुरीले भने, ‘हेराौ‌, अब छिट्टै बनाउने कोसिसमा छौं।’

प्रकाशित मिति: : 2020-10-15 09:40:00

प्रतिकृया दिनुहोस्