इटालीका खेल पत्रकार जियानलुका डि मार्जियोले आफ्नो नयाँ किताब ‘ग्रेन होटल कालसियोमर्सेटो’ मा थुप्रै रहस्यको भण्डाफोर गरेका छन्।
उनले किताबमा बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीलाई क्लबमा भित्र्याउन रियाल मेड्रिडले २ सय ५० मिलियन युरो खर्चिन खोजेको रहस्य खोलेका छन्।
सन् २०१३ को यो घटनामा मेसीले रियालको प्रस्ताव अस्विकार गरेको पनि किताबमा उल्लेख छ।
जियानलुकाले किताबमा यदि मेसीले यो प्रस्ताव स्वीकार गरेको भए उनी आफ्नो कट्टर प्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्दै गरेको देखिने बताएका छन्।
रोनाल्डो सन् २००९ मा रियालमा आवद्ध भएका थिए। उनले पनि २०१८ मा स्पेनिस क्लब छोडेर इटालीको युभेन्ट्समा आवद्ध भएका थिए।
जियानलुकाका अनुसार मेसी रियालका मालिक फ्लोरेन्टिनो पेरेजको ‘ड्रिम साइनिङ’ मा समावेश थिए। पेरेज कुनै पनि हालतमा मेसीलाई क्लबमा भित्र्याउन चाहन्थे।
उनले यसका लागि क्लबका प्रतिनिधिलाई बार्सिलोना पनि पठाएका थिए। तर, रियालको प्रस्तावलाई मेसीले अस्विकार गरे। मेसीले यतिबेला क्लबका प्रतिनिधिलाई तपाईहरू आफ्नो समय बर्बाद गरिरहनु भएको छ भनेर प्रतिक्रिया दिएको जियानलुकाको भनाई छ।
उनले २०१४ मा इंग्लिस क्लब चेल्सीले पनि मेसीलाई आवद्ध गर्न खोजेको बताएका छन्। उनले चेल्सीका तत्कालिन व्यवस्थापक जोसे माउरिन्होले पनि मेसीलाई क्लबमा भित्र्याउन खोजेको लेखेका छन्।
तर, डेको कुनै पनि हालतमा मेसीलाई क्लबमा भित्र्याउन अनिच्छुक रहेको उनको भनाई छ।
मेसीले १८ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए। उनले २००४ यता बार्सिलोनाका लागि ४ सय ८८ खेलमा ४ सय ४५ गोल गरेका छन्। यस अवधिमा टिमका लागि उनले १० वटा लिग, ४ वटा च्याम्पियन्स लिग समेत ३४ वटा उपाधि जितेका छन्।