सिरहा पत्रकार महासंघले भन्यो– दशैं खर्च होइन, अनुगमन भत्ता लिएको हो

नेपाल पत्रकार महासंघ, सिरहा शाखाले नवराजपुर गाउँपालिकाबाट दशैं खर्च नभई केही पत्रकारहरूले अनुगमन भत्ता लिएको दावी गरेको छ।

सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष रहेका कांग्रेस नेतृ चित्रलेखा यादवका भाइ विश्वमोहन यादवले पत्रकारहरूलाई गाउँपालिकाका तर्फबाट सवारीचालक लेखिएको हाफ ज्याकेट वितरण गरेको समाचार बिएल नेपाली सेवामा प्रकाशन भएपछि महासंघले उक्त दावी गरेकाे हाे।

बिहीबार गाउँपालिका यादवले पत्रकारहरूलाई सवारीचालक लेखिएको हरियो ज्याकेट र २५ सय रुपैयाँ वितरण गरेका थिए।

‘अनुगमन भत्ता ३५ सय पाउनु पर्नेमा गाउँपालिकाले २५ सय मात्रै उपलब्ध गराएको छ,’ महासंघका अध्यक्ष दिनेश्वर गुप्ताले बिएल नेपाली सेवासँग भने, ‘त्यस्तै ४/५ ओटा ज्याकेटमा प्रिण्ट मिस्टेक भई सवारी चालक लेखिन गएको हो ।’

यता गाउँपालिका अध्यक्ष यादवले भने जिल्लाका पत्रकारलाई दशैं खर्च बाँडेको बताएका छन्। 

‘भुलबस ज्याकेटमा सबारी चालक प्रिन्ट हुन गएछ,’ उनले भने, ‘ज्याकेटसँगै पत्रकार मित्रहरूलाई २५ सय रूपैयाँको दरले दशैं खर्च पनि वितरण गरेको हुँ।’

गाउँपालिका अध्यक्ष यादव कांग्रेस नेतृ यादवले सहोदर भाइ हुन्। भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तीन दर्जनभन्दा बढी उजुरी परेको छ।

प्रकाशित मिति: : 2020-10-24 13:02:00

प्रतिकृया दिनुहोस्