सरकारी डाक्टर हुँ, बिरामीलाई गेटबाटै फर्काउन सक्दैनथेँ

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

जनक नेपाल

चीनमा कोभिड १९ भाइरसको संक्रमण फैलिइरहँदा डा. संगीता मिश्र भर्खरै कोशी अस्पताल प्रमुख बनेकी थिइन् । ३ सय ५० बेड क्षमताको अस्पतालमा बिरामीको चाप यति धेरै थियो कि ४ सय १५ बेड राख्दा पनि थेग्न मुस्किल भइरहेको थियो ।

यस्तोमा कोभिड संक्रमित आए के गर्ने ? स्वास्थ्य मन्त्रालयकै कुनै तयारी थिएन् । डा. मिश्रले २० फागुनदेखि नै योजना बनाउन थालिन् । विराटनगर महानगर र प्रदेश १ सरकारसंग समन्वय गरेर पूर्वतयारी सुरु गरिन् । 

चीनको महामारीले विश्वभर स्यानिटाइजर र मास्कको अभाव गहिरिंदैथियो । क्लिनिकल मास्कको खपत महामारीअघि पनि नेपालमा कति पो हुन्थ्यो र ? बजारमा पाउन छाडिसकेको थियो । कोशी अस्पतालले स्यानिटाइजर र मास्क आफैँ उत्पादन गर्ने निर्णय गर्‍यो, ३० फागुनदेखि नै अस्पतालमा स्यानिटाइजर उत्पादन हुन थाल्यो । अस्पतालमै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको मास्क बन्न थाल्यो । कोभिड महामारीबारे सन्देशमुलक सूचनासहित १० ठाउँमा हात धुने सेवा थपियो । ‘यति गरेपछि बल्ल हामी कोभिड उपचार प्रोटोकलतर्फ लाग्यौ’ डा. मिश्र भन्छिन् । 

चैत लाग्दा नलाग्दै कोभिडको भयले अस्पतालहरु त्राहिमाम भइसकेका थिए । निजी अस्पतालहरुले ज्वरो आएका बिरामीलाई गेटबाटै फर्काउँथे । डा. मिश्रले कोशी अस्पतालको मूलगेटमा हेल्थ डेस्क राखिन् र ज्वरो आएका, नआएका बिरामी छुट्याएर उपचार सुरु गर्ने व्यवस्था मिलाइन् । ४ चैतमा त अस्पतालमा ज्वरोका बिरामीका लागि छुठ्ठै वार्ड नै खुलिसकेको थियो ।  

स्वास्थ्यकर्मीमा भय र त्रास थियो । डा. मिश्रले विराटनगर महानगरलाई अनुरोध गरेर स्वास्थ्यकर्मीलाई भाइरसबाट आफू जोगिने र सुरक्षित ढंगले उपचार गर्ने उपायबारे तालिम दिइन् । अस्पतालमा पीपीई पुगेको थिएन् । उपाय निकालियो, रेनकोटलाई पीपीई बनाउने । स्थानीय गार्मेन्टलाई अर्डर गरेर रेनकोटजस्तै सुरक्षित पीपीई बनाउन लगाइयो । ड्युटीका स्वास्थ्यकर्मीले तिनै पीपीई प्रयोग गरे ।

मुख्यमन्त्री शेरधन राईलाई भेटेर डा. मिश्रले कोभिड अस्पतालको प्रस्ताव गरिन् । उनले ठाउँसमेत हेरिसकेकी थिइन्, आफ्नै निबासछेउ सेवामार्गमा रहेको नेशनल टेडिङ सेन्टरको भवन । त्यही कोभिड अस्पताल राख्न उनले प्रस्ताव गरिन् । सरुमा अन्कनाएका मुख्यमन्त्री राई पछि तयार भए । मन्त्रीपरिषदबाट निर्णय गराएर कोभिड अस्पतालको टुंगो लाग्यो । ७५ बेडको कोभिड अस्पताल निर्माणमा प्रदेश मन्त्रालय मात्र होइन्, नेपाली सेना र सशस्त्र प्रहरीले समेत सघाएको थियो । 

प्रकाशित मिति: : 2020-10-25 08:47:00

प्रतिकृया दिनुहोस्