कर्णाली सरकारले काेराेना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उल्लेख्य काम गरेको छ: मुख्यमन्त्री शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड-१९ नियन्त्रण, रोकथाम तथा उपचारका लागि कर्णाली सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन्।

बडादसैंको शुभकामना सन्देश दिने क्रममा सोमबार मुख्यमन्त्री शाहीले कोभिड-१९ ले निम्ताएको चुनौतिलाई नयाँ अवसरका रुपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरुको विकास गरेको समेत बताएका छन्।

‘आवश्यक संख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयु बेड क्षमताको विस्तार, प्रयोगशालाको स्थापना,नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापन लगायतका कामहरु भएका छन्,’ उनले भनेका छन्।

यस्तै उनले कोभिड-१९ का संक्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत गरेको जानकारी दिएका छन्।

उनले भनेका छन्,‘नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयमा सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड-१९ का संक्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत सरकारले गरेको छ।’

मुख्यमन्त्री शाहीले  संघीयतको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार दृढ रहेको बताएका छन्।

‘नयाँ चुनौतिका रुपमा खडा भएको कोरोना महामारीको संकटले निश्चय पनि विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भएपनि बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त संघीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पुरा गर्न योजनावद्ध रुपमा प्रदेश सरकार अघि बढेको छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-10-26 11:12:00

प्रतिकृया दिनुहोस्