आइसोलेसनको दशैं : आफ्नै हातबाट टीकाजमरा ग्रहण, भिडियो कलमा हाँसीखुशी अभिनय

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर

सोमवार बिहान घण्टीको टिङरिङ–टिङरिङ आवाज कानमा परेपछि निद्राबाट ब्यूझिएँ । आँखा मिच्दै बेडबाट उठ्ने कोसिस गरें । घडीले बिहानीको ६ बजाइसकेको थियो ।

कोठाको ढोका सुस्तरी खोलेर बैठक कोठामा चियाएँ । पत्नी पूजापाठमा व्यस्त रहिछिन् । किनकि सोमवार दशैं थियो । मन तरङ्गित बन्यो । छुट्टै उत्साह र उमङ्ग सञ्चार भयो । आफूलाई नै बिर्सने प्रयास गरें । 

कोठाको ४ दिवालभित्र खुम्चिएर बस्ने, सुत्ने, उठ्ने गर्न थालेको ठीक २२ दिन भइसकेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्दाबच्दै ९ महिना जसोतसो गुजारिसकेको थिएँ । फ्रन्टलाइनमै रहेर आफ्नो दैनन्दिन क्रियाकलाप गर्नुपर्ने पेशा भएकाले जोखिम भने थियो । कोरोना संक्रमण, यसको जोखिम र नियन्त्रणका उपाय, संक्रमितकै अनुभव, यसबाट बच्ने उपाय, कोरोनाले निम्ताएको कहरका अलावा विभिन्न अवयवको रिपोर्टिङ आफू आबद्ध सञ्चारमाध्यममा नियमित रूपमा गर्दै आएको थिएँ । 

यत्तिकैमा गत असोज १९ गते कोरोना कहरले पर्यटन क्षेत्रमा पारेको प्रभाव विषयक अन्तक्र्रियामा सरिक भएँ । त्यहाँ सञ्चारमाध्यमका साथीलाई पनि सीमित संख्यामा आमन्त्रण गरिएको थियो । त्यहाँ उपस्थित एक सहकर्मीमा अर्को हप्ता कोभिड–१९ संक्रमण देखियो । उनीसँग त्यो कार्यक्रमका अलावा बीचमा पनि २ पल्टसम्म नजिकबाटै भेट भएको थियो । एकपटक दुवैले मास्क लगाएका थिएनौं । त्यो हाम्रो गल्ती थियो । 

प्रकाशित मिति: : 2020-10-28 13:21:00

प्रतिकृया दिनुहोस्