इलामको आइतबारेस्थित मेची आयुर्वेद औषधालयले उपचारात्मक सेवा विस्तार गरेपछि पहिलो पटक नाफा आर्जन गरेको छ।
प्रदेश नम्बर १ सरकार, सामाजिक विकास मन्त्रालयले सेवा विस्तार गरेको औषधालयमा गत आर्थिक वर्षमा औषधि र उपचारात्मक सेवाबाट रु पाँच लाख नाफा आर्जन भएको हो।
मेची आयुर्वेद औषधालयको स्तरोन्नतिपछि एक वर्षमा १० हजार ३९ बिरामीले सेवा लिएका छन्। प्रदेश नम्बर १ सरकारले अस्पताल स्तरोन्नति गर्न सेवा विस्तार गरेपछि नेपाल र भारतका जटिल रोगीको औषधालयमा उपचार हुँदै आएको छ।
न्यून शुल्कमा सेवा प्रदान गर्दै आएको औषधालयमा ढाड, कम्मर, घुँडा, नसा च्यापिएको, पेट, टाउकोसम्बन्धी उपचार सेवा विस्तार भएको थियो। तेइस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयमा १० प्रतिशत छुटमा सशुल्क औषधि खरीदको व्यवस्था पनि गरिएको छ।
औषधालय व्यवस्थापन समितिले आव २०७६/०७७ मा छुटमा औषधि बिक्रीबाट रु एक लाख ३३ हजार र उपचारात्मक सेवाबाट रु तीन लाख ५० हजार नाफा गरेको प्रमुख तीर्थ आचार्यले बताए।
पञ्चकर्म, निःशुल्क औषधि, अकुपञ्चर, प्रयोगशाला, आकस्मिक सेवालगायत विस्तारमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो।
औषधालयमा इलाम, पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ जिल्लाबाट उपचार गर्ने बिरामीको भीड लाग्छ। कोरोना महामारी शुरु हुनुअघि औषधालयमा दैनिक आठदश बिरामी भारतका विभिन्न क्षेत्रबाट आउने गरेका थिए। प्रदेश सरकारलाई औषधालय हस्तान्तरण गरिएपछि हालसम्म सेवा विस्तारका लागि मन्त्रालयले रु ८८ लाख लगानी गरेको छ।
पछिल्लो समय बिरामी आयुर्वेदतर्फ आकर्षित भएका छन्। प्रदेश सरकारको लगानीमा मेची आयुर्वेद औषधालयको स्तरोन्नति र सेवा सुविधा थपपछि बिरामी आयुर्वेदमा आकर्षित भएका हुन्। रासस