कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै, अल्पमतमा परेका ओली पक्षका दुई मन्त्री हटाइने

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुने भएकाे छ। 

केपी शर्मा ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउन लागेका हुन्।

यो प्रकरणमा प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि उनले  मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन्।

मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए। 

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन्।

यता कर्णाली प्रदेशमा अल्पमतमा परेका ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ।

ओली पक्षबाटै मन्त्री बनेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने जनाइएकाे छ। खत्रीविरुद्ध बैंकिङ कसुरकाे मुद्धा छ। 

यता मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी दिसकेका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु।’

प्रकाशित मिति: : 2020-11-01 08:51:00

प्रतिकृया दिनुहोस्