अस्तित्व रक्षाको संघर्षमा हुलाक

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

सुदर्शन अर्याल

२०३१ सालमा भारत गएका लाहुरेहरूलाई लक्षित गर्दै हुलाक सेवा विभागले सुरु गरेको विप्रेषण (रेमिट्यान्स) सेवा यतिबेला बन्दप्रायः अवस्थामा पुगेको छ ।

झण्डै तीन दशकपछि सुरु भएका निजी संस्था मालामाल भइरहँदा सोही किसिमको विप्रेषणको काम गर्ने सरकारी स्वामित्वको केन्द्रीय धनादेश कार्यालय भने बन्दप्रायः अवस्थामा पुगेको हो ।

भारत सरकारले लाहुरेको पेन्सन बापतको रकम पठाएर जेनतेन चालु राखेको अन्तर्राष्ट्रिय धनादेश कोषमा गत वर्षदेखि सो पैसासमेत जम्मा हुन छाड्यो । पेन्सनबापत हरेक वर्ष २७ लाख भारतीय रुपैयाँ भारत सरकारले कोषमा राख्ने गरेको थियो । तर गत वर्षदेखि सो रकमसमेत कोषमा राख्न छाडेको केन्द्रीय धनादेश कार्यालयकी प्रमुख जानुका सुवेदीले जानकारी दिइन् । ‘चौमासिक रूपमा नौ लाख भारतीय रुपैयाँ राख्दै आएकोमा गत वर्षदेखि सो रकम पनि जम्मा हुन छाडेको छ’ सुवेदीले भनिन् ।

हुलाक बचत बैङ्क नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३/०३४ देखि सञ्चालित हुलाक बचत बैङ्क समयअनुसार चल्न नसक्दा दयनीय अवस्थामा पुगेको छ । सो बैङ्कको अहिलेसम्को नाफा केवल ३२ लाख रहेको सुवेदीले जानकारी दिइन् ।

आव ०५०/५१ मा देशभर ११७ शाखामार्फत् सेवा दिँदै आएको हुलाक बचत बैङ्कको शाखा यतिबेला ६५ वटामा सीमित भएको छ । त्यसमा पनि ५४ वटा सामान्य नाफामा छन् भने ११ शाखा घाटामा छन् ।

प्रकाशित मिति: : 2020-11-02 15:10:00

प्रतिकृया दिनुहोस्