उच्च अदालतले भन्याे– र्‍यापर भिटेनलाई पक्राउ नगर्नू

उच्च अदालत पाटनले र्‍याप गायक समिर घिसिङ (भिटेन)लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश दिएकाे अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले बिएल नेपाली सेवालाई जानकारी दिए।

भिटेनले एक साताअघि युट्युबमा ‘पारा’ शीर्षकमा एक र्‍याप गीत पोस्ट गरेका थिए। उक्त गीतमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको थियाे 

लगत्तै उनलाई प्रहरीले खाेजि सूचिमा राखेकाे थियाे। प्रहरीले खाेजिकाे सूचिमा राखेपछि भिटेन प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्तरिम आदेशले रोक्न माग गर्दै उच्च अदालत पाटन पुगेका थिए। 

उनले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। 

‘प्रचलित कानुन बमोजिमको प्रकृया पूरा गरी पक्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीतसंगीतको विषयलाई लिएर निवेदनको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नू,’ प्रवक्ता रेग्मीले भने। 

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द र प्रहरीको पोशाक लगाएको भिडियो सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। 

एक वर्षअघि पनि प्रहरीले पक्राउ गरी उनलाई भिडियो डिलिट गर्न लगाएको थियो। 

आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिना कारबाही रिहा गरेको थियो। 

गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत केही समयका लागि हटाएका थिए।

त्यसपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी समेत मागेका थिए।

‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु,’ भिटेनले विज्ञप्तिमा भनेका छन्, ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोटप्रति क्षमायाचना गर्दछौँ।’
 

प्रकाशित मिति: : 2020-11-03 16:41:00

प्रतिकृया दिनुहोस्