बालुवाटारमा ‘ओली र ५ भाइ’को चर्काचर्की, २ घण्टा आरोप–प्रत्यारोप

रातोपाटी

काठमाडाैं

 

नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन गर्दै आएको आलटालविरुद्ध शुक्रबार नेकपाका ५ सचिवालय सदस्यको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्यो । यो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए । 

सो बैठकले कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडि बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गर्यो ।
 पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाइनुपर्ने ५ नेताको जोड छ । सोही अनुसार ५ नेताले ओलीलाई बुझाउन लिखित पत्र नै तयार पारे । 

प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर सामूहिक अनुरोध गर्ने निर्णयसँगै शनिबार धुम्बाराहीमै भेला भएर नेताहरु बालुवाटारका लागि हिँडे । लिखित पत्र बोकेर नेताहरु बालुवाटार पुगेपनि भेट भने सुखद हुन सकेन  । 
सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए । 

प्रकाशित मिति: : 2020-11-07 15:55:00

प्रतिकृया दिनुहोस्