संस्थागत रंगभेद अन्त्य गर्न काम गर्छु: उपराष्ट्रपति कमला (भिडियो)

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न घोषणा गरेकी छिन्।

ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन्।

पहिलो आप्रवासी सन्तानका रुपमा इतिहास बनाएकी उनले रंगभेद अन्त्य गर्न सुरुवात गर्ने बताएकी हुन्।

डेलवरको विलमिङ्गटनमा जित पछिको पहिलो सम्बोधन गर्दै उनले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताइन्।

‘जो वाइडेनले मलाई उपराष्ट्रपतिका रुपमा चयन गरेर शताब्दियौँदेखि रहँदै आएको अवरोधलाई चिर्नुभएको छ। उहाँलाई उपराष्ट्रपतिका रुपमा  सहयोग गर्न हरेक दिन तयार रहनेछु,’ उनले भनिन्।

सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका वाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा कमलालाई चयन गरेका थिए।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए।

वाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ। दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

प्रकाशित मिति: : 2020-11-08 08:05:00

प्रतिकृया दिनुहोस्