नयाँ लाइसेन्स वितरण प्रक्रिया ठप्प, तिहारलगत्तै ‘ट्रायल’ खुल्ला ?

रातोपाटी

काठमाडाैं

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया विगत ७ महिनादेखि ठप्प छ । नयाँ लाइसेन्सका लागि कहिलेदेखि परीक्षा सञ्चालन हुने भन्नेबारे पनि अन्योल नै छ । कोभिड–१९ महामारीका कारण गत चैतदेखि बन्द रहँदै आएको नयाँ लाइसेन्स वितरण प्रक्रिया संघीय सरकार र प्रदेश सरकार बीचको विवादका कारण थप अन्योलमा फसेको बताइएको छ । नयाँ लाइसेन्स वितरण प्रक्रिया खुला हुन नसक्नुमा संघीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले संघीय सरकारलाई दोषारोपण गरिरहेको अवस्था छ । दुई तहका सरकारबीचको विवादका कारण नयाँ लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राही भने ७ महिनादेखि मारमा पर्दै आएका हुन् । 

यातायात व्यवस्था विभागले सम्भवतः तिहारलगत्तै नयाँ लाइसेन्सको प्रक्रिया खुल्ला हुने जनाएको छ । तर यसको निर्णय प्रदेश सरकार तथा प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयले गर्नुपर्ने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा.लोकनाथ भुसाल बताउँछन् ।

‘सम्भवतः अब तिहारलगत्तै नयाँ लाइसेन्स स्वीकृत परीक्षा प्रक्रिया खुला हुन्छ । हामीले सम्बन्धित प्रदेश यातायात कार्यालयहरुमा यसको तयारी भइरहेको जानकारी पाएका छौं,’ उनले भने । विभागले सवारी सञ्चालन व्यवस्थापन दर्ता नवीकरणदेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षासमेत प्रदेशमातहत रहने गरी अधिकार हस्तान्तरण गरिसकेकाले नयाँ लाइसेन्ससम्बन्धी निर्णय स्वयं प्रदेशको विषय रहेको उनले बताए ।
‘यसमा हाम्रो कुनै अवरोध छैन,’ उनले भने, ‘हामीले त उताबाट आएको नतिजा अनुरुप लाइसेन्स कार्ड वितरण गर्नेमात्र हो ।’ 

प्रकाशित मिति: : 2020-11-11 08:34:00

प्रतिकृया दिनुहोस्