डेढ लाखको लोभ देखाएर ३ हजार तलव, पीडितलाई प्रहरी र गुण्डा लगाएर घोक्रेठ्याक ! (भिडियाे)

काठमाडौंको पुरानो बानेश्वरमा रहेको ओसो सिक्युरिटिङ एजेन्सीले ४१ जना नेपालीलाई बिचल्लीमा पारेको छ। 

१५ सयदेखि ५ हजार (दिराम) अर्थात ४५ हजारदेखि डेढ लाख रुपैयाँसम्म कमाई हुने प्रलोभन देखाएर उनीहरुलाई एकवर्ष अगडि दुबई पुर्‍याएको थियो। 

कम्पनीले मासिक १५ सय तलव, खानबस्न निःशुल्क र ओभर टाइम तथा कमिसन गरी ५ हजार दिरामसम्म कमाई हुने प्रलोभन देखाएको थियो। 

फ्रि भिषा, फ्रि टिकटमा पठाउनुपर्नेमा कम्पनीले साढे दुई लाखदेखि साढे तीन लाखसम्म रकम उठाएर ट्याक्सी चालकका रुपमा पठाएको थियो संयुक्त अरव इमिरेट्सको सारजाह। 

‘महिनामा १ लाख ५० हजारसम्म कमाई हुन्छ भन्दै हामीलाई दुबई पठाइएको थियो,’ मकवानपुर पालुङ देवराज कार्कीले बिएल नेपाली सेवासँग भने, ‘ओभरटाइमको कुरै छाडौं, आधारभुत तलव १५ सय पाइन्छ भनेर गरेको सम्झौताअनुसार पनि पाएनौं।’

१५ सय तलवमा दुतावासले नै छाप लगाएको छ। श्रम पत्रमा पनि त्यही छ।

‘यो सबै नक्कली रहेछ। एक वर्षसम्म पनि भनेको जस्तो काम त परैको कुरा खान बस्न समेत नपुग्ने अवस्था छ,’ उनले भने। 

अहिले उनीहरु गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा दुतावास पुगेका छन्। उनीहरु अहिले नेपाल आइपुगेका छन्।

दुवातासको लामो प्रयासपछि नेपाल फर्किएका ४१ जना कहिले मेनपावर कम्पनी त कहिले बैदेशिक रोजगार विभाग धाउँदै ठिक्क छन्।

नुवाकोटका बुद्धिबहादुर तामाङले भने, ‘हामीसँग बकाइदा महिनाको १५ सय दिराम तलव, खान बस्न फ्रि भनेर गरेको कागज छ, त्यसमा दुतावासको छापदेखि श्रमसमेत गरेको छ।’

उनका अनुसार पत्रिकामा १५ न्यूनतम तलव भन्दै सुचनासमेत जारी गरिएको थियो मेनपावरले। त्यही सुचनाअनुसार उनीहरु आश लिएर मेनपावरमा पुगेका थिए। 

‘नेपालबाट उडेको केही दिनमै हामी ठगिएको थाहा पायौं। हामीले मेनपावरमा गरेको सम्झौताबारे भन्दा कम्पनीले भन्याे– यति झुट नबोल्नुस्, तपाईँहरुलाई कति दिनुपर्छ हामीलाई थाहा छ भन्ने जवाफ दिइयो,’ तामाङले दुखेसो गरे।

उता पुगेपछि महिनामा जम्मा डेढ सयदेखि ३ सयसम्म मात्र पाएकाे तामाङले बताए। 

‘तलव बाहेक दिनमा कमाएकोबाट कमिसन पनि आउने भनिएको थियो। त्यो पाउने कुरो त परै हो, तलवसमेत दिइएन। कस्ताे दिनमा आइएछ नि भनिएकाे जस्तै भयाे,’ तामाङले भने। 

आफूहरुलाई भनेको जस्तो नभएपछि नेपाल फर्काउन माग गर्दा पठाउने कम्पनीले आज भोलि भन्दै झुलाएको उनको भनाइ छ। 

‘ताेकिएकाे तलव नपाएपछि बस्न मन लागेन। नेपाल फर्काइदेउ भन्दा कम्पनीले आज भाेलि भन्दै झुलायाे। त्यही समय लकडाउन भयो। हामीलाई त्यहाँ बस्न झनै समस्या भयो,’ उनले भने। 

गाउँबाट ऋण निकालेर २ लाख ५० हजार रकम बुझाएर गएका अर्का ओखलढुङगाका भविराज सुनारको दुखेसो पनि उस्तै छ। 

केही होला भनेर ऋण निकालेर दुबई उडेका थिए उनी। यता ब्याज बढ्दै गयो। कमाइ नभएपछि उनले कयौं रात तनावमा कटाएँ। 

‘अब त्यो ऋण कसरी तिर्ने भन्ने समस्याले सताउन थाल्यो। रातभर ऋण सम्झिँदा निन्द्रा परेन। जसोतसो नेपाल त आइयो। तरपनि अझै मन हलुँगाे भएकाे छैन,’ उनले भने। 

पैसा माग्दा प्रहरी र गुण्डा लगाइयो

मेनपावरलाई आफ्नो गुमेको पैसा माग्दा उल्टै गुण्डा लगाएर धपाएको पीडितहरुको गुनासो छ। 

‘हामीलाई सारजाहमा हुँदा नेपाल आउ, यही दिउँला भनियो। हामी नेपाल फर्कियौँ। मेनपावरमा गयो, विभागमा जाउ भन्छ, विभागमा आयो, मेनपावरमा जाउ भन्छ। हामीले कहिलेसम्म यसरी दुख पाइराख्ने?,’ सुनार प्रश्न गर्छन्।

आफ्नो समस्या सुनाउन जाँदा मेनपावरले प्रहरी र गुण्डा लगाएर कार्यालयबाट बाहिर निकाल्न लगाएको उनी सम्झन्छन्।

‘फ्रि भिषा, फ्रि टिकटमा हामीले यत्रो पैसा दियौं। पैसा लिदाँको भिडियो पनि छ। त्यो भिडियोलाई विभागले प्रमाणका रुपमा लिदैनौं भन्छ। अबको बिकल्प के हो भन्ने हामीलाई थाहा छैन। तर हाम्राे गुमेकाे पैसा जसरी नि फिर्ता हुनै पर्छ,’ पीडितहरुकाे भनाइ छ। 

युएईस्थित नेपाली दुतावासलाई समेत उक्त मेनपावर कम्पनीको ठगीबारे जानकारी भएको उनीहरुको भनाइ छ। 

‘दुतावासले कारवाही गर्नु भनेर पठाएको कम्पनीले अहिलेपनि खुलेआम मान्छे पठाइरहेको छ। हामीले अहिले जानेहरुलाई भन्न खोज्दा कम्पनीले यिनीहरुको कुरा नसुन्नु भन्छ। अहिले जानेहरुको पनि अवस्था उस्तै त हुने हो,’ युएईबाट फर्केका पीडितहरु भन्छन्। 

प्रकाशित मिति: : 2020-11-13 15:05:00

प्रतिकृया दिनुहोस्