आंशिक प्राध्यापकले करारमा नियुक्ति पाउने बाटाे खुल्याे

त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक संघसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया सुरु गरेको छ।

त्रिवि कार्यकारी परिषद्को माघ २ गतेको बैठकको निर्णयअनुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले आइतबार त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्यापन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाएका हुन। 

सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी ती प्राध्यापकको  व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देश गरेको छ। 

गत पुस २४ मा विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सातबुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो। 

सहमतिमा त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने प्रक्रिया सुरु भएको हो। 

यसरी नियुक्त प्राध्यापककाे क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गरिने भएपनि उनीहरु त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने छन्। 

यस्तै एक शैक्षिक सत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी त्रिविले नियम संशोधन गरेको छ। हाल त्रिविमा करीब दुई हजार आंशिक प्राध्यापक छन्। 

याे वारपारकाे आन्दोलनले आंशिक प्राध्यापकलाई करार गर्ने बाटाे खुलेकाे आंशिक प्राध्यापक संघ जुम्लाका अध्यक्ष नरबहादुर घर्तिले बताए।

आंशिक प्राध्यापक संघका महासचिव राजेन्द्र गिरीले विगतका सरकार र नेतृत्वसँग भएका सहमति कार्यान्वयन नभए पनि हालको सहमति कार्यान्वयन सरु हुनु सकारात्मक भएको बताए।

प्रकाशित मिति: : 2021-01-24 21:49:00

प्रतिकृया दिनुहोस्