तरकारी बेचेर केटाकेटी पढाएकी तारा (भिडियाेसहित)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

तारा फुयाल, पेशाले तरकारी व्यापारी हुन्। २०१९ सालमा जन्मिएकी उनी ५ दिदीबहिनीमध्ये कि माइली हुन्। भाई एक जना छन्। जसले एसएलसीसम्मको अध्ययन पुरा गरे। 

तारालाई पनि भाई जस्तै स्कुल गएर पढ्ने ठूलो रहर थियो। तर, बुवाआमालाई आफ्नो ८ सन्तानको लालनपालन गर्नै धौंधौं थियो। फेरि रुढीवादी परम्परा पनि। त्यसैले उनले आफ्नो चाहनालाई मनभित्रै दबाएर घाँसदाउरा गर्नुपर्‍यो। 

११ वर्षको उमेरमा त उनको मोरङ, पथरीका २१ वर्षीय बलभद्र कोइरालासँग बिहे भइसकेको थियो। हुनत तारालाई बिहे गर्ने कुनै इच्छा थिएन। तर, परिवारको जोडबलका अगाडि उनको केही लागेन। एक त नाबालक उमेर, त्यसमा पनि आफूभन्दा १० वर्ष जेठा पुरुषलाई देख्दा उनलाई डर न लाग्ने कुरै भएन। तर, के गर्ने? उनीसँग अर्को विकल्प पनि थिएन। 

बिहेअघि नै श्रीमान देखेर डराएकी तारा अहिले पनि बुढासँग निकै डराउँछिन्। बुढाले मौका पायो कि कुटिहाल्थे। हाल पनि अवस्था त्यस्तै छ। बिहे गरेर सुख पाउने आशा बोकेकी ताराले बिहेपछि पनि माइतमा झैं दुःख पाइन। 

बिहे भएको पाँच वर्षमा छोरी जयन्ताको जन्म भयो। २४ वर्षमा जेठा छोरा सुजित जन्मिए। २७ वर्ष पुग्दा अर्का छोरा अविनको जन्म भयो। 

बुढोको थिचोमिचो सहदैँ आएकी ताराका लागि २०४९ सालमा ठूलै बज्रपात पर्‍यो। भीषण बाढीका कारण उनको सारा खेतबारी बगायो। गाउँमा बस्नसक्ने अवस्थै रहेन। 
उनी भविस्यको आशामा तीनवटै छोराछोरी च्यापेर काठमाडौं हानिइन्। राजधानीमा उनी नयाँ बसपार्क छेउछाउ बस्थिन्। त्यतिबेला काठमाडौंमा गलैंचाको व्यापार खुब फस्टाएको थियो। त्यसैले आफ्नो बालबच्चा हुर्काउन गलैंचामा काम गर्न थालिन्। 

उनको मासिक तलब ६ हजार थियो। यसैले परिवार पाल्नुपथ्र्यो। 
लामो काठमाडौं बसाईंका क्रममा उनले नयाँ बसपार्कतिर मात्र होइन, पेप्सीकोलालगायत कोटेश्वरमा पनि काम गरिन्। 

उनले राजधानीमा गलैंचा मात्र बुनिनन्, ऊन बाट्नेदेखि गार्मेन्ट्समा समेत धाइन्। तर, ७ सय रुपैयाँको कोठा भाडामा जीवन चलाउन उनलाई निकै गाह्रो भयो। आफूले गरेको कामबाट खासै केही नहुने देखिएपछि उनले तरकारी बेच्ने निधो गरिन्। 

‘मैले मकै पोले, तरकारी बेचेँ। के चाही गरिन्?’ उनले बिएल नेपाली सेवासँग भनिन्। 
वास्तवमा गलैंचा बुन्नका लागि कारखानामा बस्दा उनलाई कोठाभाडा तिर्नु पर्दैन्थ्यो। तर, यसले छोराछोरीलाई पढाउन पुग्दैन्थ्यो,’ उनले भनिन्। 

उनले छोरा–छोरीको पढाईंका लागि नयाँ बानेश्वरमा डेरा सारिन्। ‘मैले २०५७ सालदेखि तरकारी बेच्न सुरु गरेको हुँ,’ उनले बताइन्–‘मैले पढ्न नपाए पनि छोराछोरीलाई पढाउन निकै मिहिनेत गरेँ।’

उनको जेठी छोरीले आठ कक्षासम्मको अध्ययन गरिन्। यसपछि घरको अवस्था हेरेर आमालाई आफैले भविस्य बनाउने भन्दै चिन्ता नगर्न ढाड्स दिएकी थिइन। ‘मेरो चिन्ता नगर्नुस्। भाईहरूलाई पढाउनुस्,’ छोरीले भनेको कुरा सम्झिदै उनले भनिन्, ‘नभन्दै छोरीको बिहे राम्रो घरमा भयो। उनको अवस्था अहिले राम्रो छ।’

जेठा छोराले १२ कक्षासम्म पढेका छन्। कान्छाले भने स्नात्तकोत्तर गरेका छन्। उनी अहिले छोराहरूको भविस्यलाई लिएर बढी चिन्तित छिन्। भन्छिन्, ‘पढेर पनि बेरोजगार छन्। पढाएको छु। केही गर्लान नि?’

विवाह गरेको ४७ वर्ष पुरा भइसक्दा पनि आफूले सुख नपाएको भन्दै उनी दुःखी देखिइन्। ‘सानोदेखि कुटाई खान्थे,’ ५८ वर्षीय तारा भन्छिन्। उनी अहिले पनि बाटोमा सागसब्जी बेच्ने काम गर्छिन। उनी पहिले मूलपानीबाट तरकारी ल्याएर बेचबिखन गर्ने गर्थिन। उनको भनाईमा दैनिक २५ सयको व्यापार हुन्थ्यो। भन्छिन्, ‘अहिले तिनकुनेबाट तरकारी ल्याउँछु। खासै व्यापार छैन। हजारसम्म मुस्किल छ।’

विगतमा तरकारी बेचेर १्र० हजारको कोठाभाडा तिर्न खासै समस्या नभएको तारालाई कोरोनाकालमा हम्मेहम्मे परेको छ। उनलाई अहिले कोठा भाडा तिर्न निकै गाह्रो पर्न थालेको छ। ‘हेर्नुस् न किनेको तरकारी बिक्रि हुदैन। खान धौंधौं पर्न थालेको छ,’ उनले भनिन्। 
 
श्रीमान अहिले ज्यामी काम गर्छन। श्रीमानले कमाएको पैसा उनैलाई ठिक्क हुने ताराको भनाई छ। घर धान्न श्रीमानले सहयोग नगर्ने उनको भनाई छ। ‘जति कमाए पनि उसैलाई ठिक्क हुन्छ,’ उनले भनिन्। 

६८ वर्षको उमेरमा पनि झगडा गर्न नछोडेको उनको भनाई छ। ‘अहिले सके उसले कुट्छ, नसके मैले,’ उनले बताइन्। छोराछोरीका लागि आफू नै बावुआमा भएको उनको भनाई छ। अहिलेसम्म घर सम्हालेको बताउँने उनी भविस्यमा के हुन्छ, त्यो थाहा नभएको बताउँछिन्। 

तरकारी बेचेर परिवार पाल्दै आएकी तारालाई कसैको डर छैन। तर, महानगरपालिकासँग भने निकै डराउँछिन्। भन्छिन्, ‘तरकारी बेच्ने बेला नगरपालिकाले धपायो भने समस्या हु्न्छ। घरको खर्च उठाउन मुस्किल पर्छ।’
उनी अझै आफ्नो भविस्य दैव भरोसा भएको बताउँछिन्।

प्रकाशित मिति: : 2020-11-22 15:06:00

प्रतिकृया दिनुहोस्