शेयरबजारमा नाफा बुक गर्ने सक्रिय, नेप्से दबाबमा 

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा सोमबार नेप्से सूचक सामान्य दबाबमा परेको छ। नेप्से सूचक २.३८ अंकले घटेर १७८० विन्दुमा अडिएको छ। १९९ कम्पनीको ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१ करोड २० लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १२ मध्ये ४ समूहको सूचक बढेको छ भने बाँकी तल झरेका छन्। वाणिज्य बैंक समूह ६.०५ अंकले बढेको छ।

सूचक सामान्य देखिनुमा पनि यही प्रमुख कारण हो। छोटो समयमा राम्रोसँग बढेको कम्पनीहरुबाट लगानीकर्ताले नाफा बुक गरेका हुन्। सोही कारण सूचक केही दबाबमा परेको हो। तथापि, अहिले पनि खरिदकर्ता निकै सक्रिय रहेका छन्। 

औसत कारोबार रकम निकै उत्साहप्रद देखिएको छ। बजारमा नयाँ–पुराना अनि साना–ठूला सबैथरिका लगानीकर्ता उत्तिकै सक्रिय रहेको ब्रोकरहरुको भनाई छ। यसले बजारलाई फेरि अर्को उचाईमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको छ। 
 
सेयर बजारमा अधिकतम हिस्सा रहेको बैंकिङ समूहमा तेजी देखिएको छ। उत्पादनमूलक समूह पनि बढेको छ। बैंकिङ समूह सकारात्मक देखिएले पनि सूचकको वृद्धिले निरन्तरता पाउने कतिपयले अनुमान गरेका छन्। 

नेप्से सूचकले १८ सय विन्दुलाई पार गरेपछि केही करेक्सन देखिएको हो। यसअघिको उच्च विन्दुलाई पार गर्नुअघि बजारले केही तयारीहरु गरेको भन्नेहरु पनि छन्। यतिबेला बजार यसअघिको उच्चतम विन्दु १८८१ नजिक आइरहेको छ।

प्रकाशित मिति: : 2020-11-23 16:19:00

प्रतिकृया दिनुहोस्