ओलीलाई एक पद छोड्न लगाउने रणनीतिमा प्रचण्ड-नेपाल

सेतोपाटी

काठमाडाैं

विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रका दुवै पक्षले अहिले आफ्ना रणनीति बनाइरहेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीलाई एक पद छोड्न लगाउने योजना बनाएका छन् भने ओली पक्षधरले प्रचण्डलाई कात्तिक २८ गते उनले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन गलाउने रणनीति अपनाएका छन्।

प्रचण्डले  उक्त प्रस्ताव फिर्ता नलिए पार्टी फुटको बाटोमा जाने उनीहरूको चेतावनी छ। 

प्रचण्ड-नेपाल पक्ष भने ओलीले यसअघि निर्णय भएका कुरा उनले पालना नगरेकाले अन्तिमसम्म पनि उनीसँग सम्झौता नगर्ने मुडमा छन्।

यसअघि स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नभएकोले प्रधानमन्त्री ओलीले एक पद छोड्नै पर्ने निश्कर्षमा प्रचण्ड र नेपाल पुगेका छन्।

'यसअघि पनि हामीले दुईमध्ये एक पद छोड्न पर्छ भनेकै हो। तर प्रचण्ड पछि हटेका कारण अध्यक्ष र प्रधानमन्त्रीमा केपी ओली रहिरहने निर्णय भएको थियो। अब पछि हट्ने पालो केपी ओलीको हो,' प्रचण्ड-नेपालनिकट एक नेताले भने, 'प्रधानमन्त्रीले पनि प्रस्ताव ल्याइसकेपछि दुई अध्यक्षका प्रस्ताव र नेताहरूका धारणा समेटेर एउटा साझा प्रस्ताव ल्याउने, प्रधानमन्त्रीले दुईमध्ये एक पद छोड्ने अथवा दुवै प्रस्ताव केन्द्रीय कमिटीसम्म लगेर त्यहीँबाट छिनोफानो गर्नेलगायत विकल्प हुन सक्छन्।'

सचिवालयमै कार्यदल बनाएर साझा प्रस्तावको रूपमा लैजाँदा पनि प्रधानमन्त्री ओलीले एक पद भने छोड्न पर्ने परिस्थिति आउने ती नेताको भनाइ छ।

प्रचण्ड-नेपालनिकट उच्च स्रोतका अनुसार उनीहरूले प्रधानमन्त्रीलाई नै दुईमध्ये एक पद छोड्न लगाउने तयारीमा छन्।

प्रकाशित मिति: : 2020-11-25 00:06:00

प्रतिकृया दिनुहोस्