घट्यो आयात, बढ्यो निर्यात

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो। 

भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो। 

यसैगरी चार महिनाको अवधिमा रु ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ। यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो।

तथ्याङ्कानुसार चार महिनाको अवधिमा रु चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रु तीन अर्ब ६२ करोड घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो। 

गत आवको सोही अवधिमा रु चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा रु चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो। 

गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ। 

प्रकाशित मिति: : 2020-11-25 14:15:00

प्रतिकृया दिनुहोस्