भारतीय विदेश सचिव हर्षवर्द्धन आज नेपाल आउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

 भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन्। 

उनी विशेष विमान मार्फत बिहान १० बजेपछि काठमाडौं आउन लागेकी हुन्।

परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी आज नेपाल भ्रमणमा आउन लागेका हुन्। 

गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रृंगलाले पहिलो पटक आफ्नो निकट छिमेकी मुलुकको भ्रमण गर्न लागेका हुन्। 

विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमा हर्षवर्द्धनको भ्रमण रहेको  कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिएकी छन्।

यद्यपी याे भ्रमणले सीमा विवादका कारण नेपाल र भारतबीच विगत एक वर्षदेखि कायम रहेको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न विश्वास गरिएकाे छ।

श्रृंगलाको नेपाल भ्रमणलाई काठमाडौंसँगको ‘इन्गेजमेन्ट’ सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा हेरिएको छ। 

अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको ३ दिने भ्रमणका लागि काठमाडौं आएका थिए। 

त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए।

भारतीय विदेश सचिव हर्षवर्द्धन दुई दिन नेपालमा रहदा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहमा औपचारिक भेट तथा छलफल हुने जनाइएकाे छ।

अघिल्लो वर्ष कात्तिकमा भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्साप्रकाशन गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ। गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ–लिपुलेक सडकको उद्घाटन गरेपछि काठमाडौं–दिल्लीबीचको दूरी थप बढ्न गएको थियो।

यता नेपालले सीमा विवाद हल गर्न विदेश सचिवस्तरीय बैठकका लागि लामो समयदेखि आग्रह गर्दै आएको थियो। 
 
नेपालको उक्त आग्रहलाई कहिले कोरोना भाइरसको महामारी त कहिले वातावरण अनुकूल नभएको भन्दै भारतले पन्छाउँदै आएको थियो।

 भ्रमणको पहिलो दिन बिहीबार दुई देशका सचिवबिच द्विपक्षीय वार्ता हुनेछ। यस्तै सहयोगका विविध क्षेत्रबारे छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिइन्।

भारतीय विदेशसचिवले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने तयारी छ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग पनि भेट गर्ने छन्। उनी भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने छन्।

प्रकाशित मिति: : 2020-11-26 08:12:00

प्रतिकृया दिनुहोस्