​​​​​​​अमेरिकाका नेपालीको चिन्ता : ओलीलाई 'नेपाली ट्रम्प' बन्नबाट रोक्ने कसरी ?

घरदेश नेपालमा सत्तारूढ दल नेकपा सचिवालयको 'वार कि पार' बैठक बस्न सुरसार भैरहेको बेला हजारौ माइल टाढा परदेश अमेरिकाको नेपाली डायस्पोरामा पनि चासो र चिन्ता बढेको छ। उता दिन हुँदा यता रात सुरू भएको छ तर सप्ताहान्तको रात भएकाले केही ढिलै समयसम्म बसेर भए पनि बैठकको छनक थाहा पाएर सुत्ने सोचमा धेरै नेपाली रहेका छन्।

यो बैठक यसकारण पनि महत्वपूर्ण छ कि यसले नेपालको सत्तारूढ दल त प्रभावित हुने नै छ, सरकार, पद्धति र समग्र मुलुकको राजनीतिको दिशा र दशा नै परिवर्तन पनि हुन सक्छ। त्यसैले सत्तारूढ दलका शुभचिन्तक र समर्थक मात्र हैन, अन्य दल र कुनै पनि दलमा नरहेका आम नेपालीमा पनि चासो र चिन्ता बढेको छ।

नेपाल र नेपालीको भलो चाहने कोही पनि नेकपा विभाजित होस् र मुलुकमा फेरी एकपटक राजनीतिक अस्थिरताको कालो बादल मडारियोस् भन्ने चाहदैनन् । राजनीतिक रूपमा नेकपाप्रति विमति राख्ने जिम्मेवार व्यक्ति पनि अहिलेको परिस्थितिमा भने त्यस्तो चाहना राख्दैनन्। किनकि, खासै संक्रमण नसकिएको घरदेशमा कुनै दल विभाजित भएर पद्धति बलियो हुने स्थिति छैन। बरू, मुलुक थप दुर्घटनामा पर्ने सम्भावना नै बढी छ।

तर, घरदेशमा त्यस्तो राजनीतिक दुर्घटना टरोस् भन्दैमा उनीहरू नेपालमा फेरि व्यक्ति केन्द्रित सोच हावी होस् भन्ने पनि चाहदैनन्। अमेरिकामा ट्रम्पले रिपब्लिकन पार्टी नै हाइज्याक गरेर जुन किसिमको नयाँ तानाशाही हर्कत देखाइरहेका छन्, त्यसको प्रत्यक्ष मार खेपिरहेका यहाँका नेपाली नेपालमा पनि 'नेपाली ट्रम्प'को जन्म होस् भन्ने चाहदैनन्। पछिल्लो अवस्था हेर्दा ओली पनि ट्रम्प पथमै गएको अवस्था छ। तर, ट्रम्पको जुन हालत अमेरिकी जनताले बनाइदिए, त्यसबाट पनि ओलीले पाठ सिक्लान् भन्ने आशा गर्न सकिन्छ। 

नेपाली जनताले व्यतिवादी निर्दलीय पञ्चायती व्यवस्था र तानाशाही राजसंस्था फालेका हुन्। त्यसका लागि ओलीको पनि एक हदसम्मको योगदान छ। तर, उनले आफूले जुन मान्यता र पद्धतिका विरूद्ध लडे भनेका छन्, यति छिटै उनी त्यही ठाउँमा पुगेको जस्तो व्यवहार गरिरहेका छन्। यो व्यवहारमाथि लगाम लगाएर पार्टी र पद्धति स्थापित हुन जरूरी छ। 

नेकपाको पछिल्लो अवस्थामा ओली सैद्धान्तिक रूपमै स्खलित भएका छन्। पार्टीभन्दा प्रधानमन्त्री ठूलो, पद्धतिभन्दा व्यक्ति ठूलो अझ आफू नै प्रत्यक्ष निर्वाचित भएजस्तो गरेर उनले जुन किसिमको मनोमानी गरेका छन्, त्यसले प्रकारान्तरमा पार्टी पद्धतिलाई बलियो बनाउँदैन। यसको अर्थ उनलाई फगाम लगाउने पक्ष सबै ठीक छ भनेको हैन, उसका पनि तमाम गल्ती होलान्। तर, अहिलेको सन्दर्भमा देख्नेगरिकन उनीहरू ठीक छन्। नदेखिने गरी को के छन्, त्यसको आधारमा कम्तिमा पनि यस्तो परल अवस्थामा धारणा बनाउनु हुदैन।

नेकपामा प्रस्तुत अवस्थामा पनि ओली ठीक हुन् भन्ने सोच व्यक्ति ठीक भन्ने सोच हो। यस्तो सोच पनि राख्न पाइन्छ तर यो सोच अहिले मुलुकले अंगिकार गरेको विधि र पद्धतिले स्विकार गरेको हैन। 

अहिलेको अवस्थामा नेकपा नटुक्रियोस् भन्ने चाहना राख्ने जो कोहीले के पनि हेक्का राख्न जरूरी छ भने पार्टीको एकता बचाउने नाममा ओलीको तानाशाहीलाई मलजल गर्ने काम पनि गरिनु हुदैन।यस्तो प्रवृतिलाई मलजल गर्दै जाने हो भने एकदिन व्यक्तिको सनकमा पार्टी पनि भड्खालोमा जान्छ। 

घरदेश नेपालमा सत्तारूढ दल नेकपा सचिवालयको 'वार कि पार' बैठक बस्न सुरसार भैरहेको बेला हजारौ माइल टाढा रहेको परदेश अमेरिकाको नेपाली डायस्पोरामा पनि चासो र चिन्ता बढेको छ। उनीहरूको एउटै चाहना छ, यो बैठकले नेकपा पनि नफुटाओस्, ओली नेपाली ट्रम्प पनि नबनुन्।

ओलीले पछिल्लो समय पार्टीमा मनमौजी गर्न पाएका छैनन् । अर्को पक्षले त्यसमा लगाम लगाउँदा बरू पार्टी नै थला परेको छ यो बेग्लै कुरा हो। तर, सरकारमा मनमौजी गर्दा उनले शक्ति आर्जन गरेका छन्। उनले आफूलाई पायक पार्न मात्र हैन, अर्को पक्षलाई कमजोर पार्न पनि मन्त्री भन्ने पदलाई केटाकेटीका लागि चकलेट बनाइदिएका छन्। अहिले सत्तामा पुगेका बादल हुन् या लेखराज, योगेश हुन् या घनश्याम त्यही गुलियोमा भुलिएका छन्। ओलीले माओवादी खेमाका मणि थापा, हरिबोल, टोपबहादुर, चक्रपाणीलाई पनि मन्त्रीकै चकलेट देखाएर प्रलोभनमा पारेका छन्। यी र यस्तै पदका लागि जे पनि गर्न तयार भएका मध्यमार्गी लोभीपापीका कारण ओली दह्रो भएका हुन्। 

पछिल्लो अवस्था हेर्दा ओलीले अर्को जवाफी प्रस्ताव पेस गर्नेछन्। त्यो प्रस्ताव कस्तो हुन्छ? त्यसैको आधारमा नेकपाको दशा र दिशा निर्धारण हुन सक्छ। उनको किचन क्याविनेटका सदस्यहरूको बोली अलि नरम सुन्न् थालिएको छ। त्यसले पनि ओली रक्षात्मक भएरै प्रस्तुत हुने अपेक्षा गरिएको छ। मध्यमार्गी भन्ने 'लोभीपापी' पनि यसपटक स्थायी समितिको बैठकको म्यान्डेड उलंघन गरेर ओलीले अलि बढी नै गरेको बताइरहेका छन्। प्रचण्डले लगाएका आरोपमा मिडिया ट्रायल भैसकेको र यसको स्वामित्व सचिवालयका बहुमत सदस्यले लिइसकेकाले ओली एक कदम पछि हट्न बाध्य भएका छन्। उनी यसकारणले पनि हट्छन् किनकि पार्टी विभाजन हुँदा सबैभन्दा बढी गुमाउने ओली र उनका गुटियारहरूले हो, उनीहरूको पद जान्छ, पदसँगै पावर र पैसा पनि जान्छ। पदको प्रतिष्ठा त राखिएकै थिएन, जाने कुरै भएन। 

अमेरिकामा रहेका नेपालीको एउटै चाहना हो,घरदेशमा संकट निम्तिने अवस्था भएकाले कम्तिमा अहिलेका लागि नेकपा नफुटोस् । तर, सँगसँगै ओली नेपाली ट्रम्प पनि नबनुन् । अमेरिकाजस्तो स्थापित पद्धति भएको मुलुकमा त ट्रम्पको सनकले निक्कै रेक्टर स्केलको धक्का दिएको छ भने नेपालजस्तो संक्रमण नसकिसकेको मुलुकमा ओलीको धक्का त्योभन्दा ठूलै हुन्छ। त्यसमा पनि यान्छी, गोयल र भण्डारी तिनैजना ओलीका लागि दाहिना भएको अवस्था छ। यस्तो अवस्थामा देब्रा हुने भनेको नेपाल र नेपाली जनता अनि उनीहरूको ठूलो सहादतपछि प्राप्त गणतन्त्र हो।

अहिलेका लागि अमेरिकामा रहेका नेपालीको एउटै कामना छ, ओलीलाई सद्वुद्धि प्राप्त होस् । उनी नेपाली ट्रम्प बन्ने भिरको बाटोतिर नलागुन्। अनि, उनको पार्टी पनि विधि र पद्धतिका लागि चट्टानझै उभियोस् र अमेरिकाको अहिलेको रिपब्लिकन पार्टीजस्तो निरीह नबनोस् ।
 

प्रकाशित मिति: : 2020-11-28 09:23:00

प्रतिकृया दिनुहोस्