कम्प्युटरै नदेखी कम्प्युटरमा तीन वर्षको पढाइ

तस्बिर : सेतोपाटी

राजेश घिमिरे

इच्छाकामना गाउँपालिकाको मयाटारस्थित राष्ट्रिय आधारभूत विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउन थालेको ५ वर्ष बढी भयो। यो विषयमा उत्तीर्ण हुँदै सयौं विद्यार्थीले निम्न माध्यामिक तह पार गरे। तर उनीहरू कसैले पनि कम्प्युटर भने कहिल्यै देख्न पाएनन्।

आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले निम्न माध्यामिक तहका लागि ९ वटा विषय तय गरेको छ। तीमध्ये ८ वटा विषय अनिवार्य र एउटा ऐच्छिक छन्। पाठ्यक्रमको ढाँचामा साधारण शिक्षाअन्तर्गत मातृभाषा, स्थानीय विषय, संस्कृत वा अन्य विषयलाई ऐच्छिक भनिएको छ।

उक्त ऐच्छिक विषयअन्तर्गत चितवनका अधिकांश विद्यालयले कम्प्युटर विषय पढाउँदै आएका छन्। आधारभूत विद्यालय मायाटारजस्ता दर्जनौं विद्यालय चितवनमा छन् जहाँ अध्ययनरत् विद्यार्थीले कम्प्युटर देख्न पनि नपाई तीन वर्षको कक्षा पुरा गरे।

अझ अनौठो त उनीहरूले १०० पूर्णाङ्कमा ५० अङ्कको प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे।

विद्यालयका प्रधानाध्यापक पदमबहादुर प्रजाले ऐच्छिक विषय भए पनि माथिबाटै यही पढाऊ भनेर पाठ्यपुस्तक पठाइएका कारण पढाउँदै आएको बताए।

‘पढाउन थालेको पाँच वर्षभन्दा बढी भयो विद्यार्थीलाई आजसम्म कम्प्युटर देखाउन सकेको छैन,’ उनले अवस्था सुनाए, ‘कम्प्युटर कस्तो हुन्छ भनेर सोध्नेलाई टिभीजस्तै हुन्छ भन्ने गरेका छौं।’

प्रकाशित मिति: : 2020-11-29 12:03:00

प्रतिकृया दिनुहोस्