पृथ्वीबाट ४०० किलोमिटर पर अन्तरिक्ष स्टेसनमा बस्नेको जीवनशैली

अनलाइनखबर

काठमाडौँ
सांकेतिक तस्बिर

 मान्छे अन्तरिक्षमा होस् या पृथ्वीमा, जहाँ गए पनि उसको जीवनशैलीमा धेरै बदलाव आउँदैन । अनुसन्धानको लागि पृथ्वीभन्दा ४०० किलोमिटर टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा जाने मान्छेहरूले पनि पृथ्वीमा जस्तै आफ्नो नियमित कर्म गर्नैपर्छ ।

समयमा खाने, समयमा शौच गर्ने, आफ्नो सरसफाइलाई ध्यान दिने जस्ता सबै कर्महरू अन्तरिक्षमा पनि नियमित तालिकाको रुपमा तयार पारिएका हुन्छन् । नासाले तयार पारेको अन्तरिक्ष यात्रीको जीवनशैलीलाई अध्ययन गर्दा उनीहरुको नियमित सरसफाइ, नियमित खानपान र अभ्यास जस्ता कर्महरु पृथ्वीमा जस्तै चलिरहन्छ ।

अन्तरिक्षमा बस्ने मान्छे पनि पृथ्वीका मान्छे जस्तै नियमित नुहाउँछन्, दाँत माझ्छन्, दाह्री खौरिन्छन् र नियमित शौच गर्छन् । बस् त्यहाँ पृथ्वीको गुरुत्वाकर्षण नहुँदा केही काम गर्न कठिन हुन्छ । माइक्रोग्राविटीका कारण अन्तरिक्ष यात्रीहरूले आफ्नो स्वास्थ्यमा भने केही हेरचाह गर्नुपर्ने नासाले जनाएको छ ।

सरसफाइको लागि हरेक अन्तरिक्ष यात्रीहरूसँग एउटा व्यक्तिगत स्वच्छता किट हुन्छ । किटमा व्यक्तिगत स्वच्छताका सामग्रीहरु राखिएको हुन्छ । यी सबै काम अन्तरिक्षमा पनि पृथ्वीमा जस्तै हुने गर्छ । माइक्रोग्राविटीका कारण स्पेस स्टेशनमा रहेका शौचालय पृथ्वीका मानिसहरूले प्रयोग गर्ने शौचालयभन्दा बढी जटिल खालको हुन्छ । अन्तरिक्ष यात्रीहरूले खुट्टाको टेको लगाएर शौचालयको सिटमा आफैंलाई बाँधेर राख्नुपर्छ ।

अन्तरिक्षमा खानपान

अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा अनुसन्धान गर्न जाने मान्छे प्रत्येक ६÷६ महिनामा परिवर्तन हुने गर्छ । ती मान्छेहरुले यात्राको क्रममा आफूलाई खान आवश्यक सबै वस्तुको बन्दोबस्त मिलाएर गएका हुन्छन् । जसरी एउटा साताव्यापी यात्रामा निस्कँदा हामीले पूरै यात्राभरिको लागि बन्दोबस्ती मिलाएर हिँड्छौं त्यसैगरी अन्तरिक्षमा जाँदा पनि पूर्वतयारी गरेर जाने गरिन्छ ।

अन्तरिक्षमा जाने मान्छेले आफू बस्ने समयसम्मको लागि खानाको बन्दोबस्त गरेर गएको हुन्छ । उनीहरुले विभिन्न किसिमका खानेकुरा लैजान्छन् जस्तै फलहरु प्राकृतिक रुपमा नै खान मिल्ने खालका हुन्छन् । अन्य केही खानाको लागि पानी आवश्यक हुन सक्छ । त्यसबाहेक तताएर वा पकाएर खाने खानाको लागि ओभनको व्यवस्था गरिएको हुन्छ ।

प्रकाशित मिति: : 2020-11-29 15:56:00

प्रतिकृया दिनुहोस्