बाँकेको नरैनापुरमा पठनपाठन सुचारु

बाँकेको नरैनापुर गाउँपालिकाले आइतबारदेखि पठनपाठन सुचारु  गरेको छ।  

कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आइतबारदेखि खुलेका हुन्।  

गाउँपालिकाले यस अघि नै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय  गरेको थियो।  

पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।  

आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान सुरु भएको गाउँपालिकाका अध्यक्ष  इस्तियाक अहमद शाहले बताए। 

कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अवरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आइतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय भएअनुसार विद्यालय खोलिएको अध्यक्ष शाहले बिएल नेपाली सेवालाई जानकारी दिए।

पछिल्लो समय नरैनापुरमा कोरोना नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ। 

कार्तिक २७ गतेको गाउँपालिकाको शिक्षा समितिको बैठक, मंसिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए।

यसअघि नै देशभर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ स्वीकृत गरिसकेको छ। पूर्ण सावधानीका साथ विद्यालय सञ्चालन गरिने उनले बताएका छन्। 

कोरोना कहरपछि नरैनापुरले पहिलो पटक विद्यालय सञ्चालनमा ल्याएको हो। यहाँका आठ पालिकामध्ये बैजनाथ गाउँपालिकाले पनि भोलिदेखि विद्यालय सञ्चालन गर्दैछ।

प्रकाशित मिति: : 2020-11-29 19:51:00

प्रतिकृया दिनुहोस्