शेयरबजारमा वृद्धि जारी, नेप्से सूचक २०२८ सम्म पुगेर फर्कियो

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारले सोमबार अहिलेसम्मकै अर्को उच्च विन्दु नेप्से सूचक २०२८ सम्म पुगेको छ। २०२८ विन्दुसम्म पुगेको बजार फर्किएर २००० हजारमुनि आएर बन्द भएको हो ।

कारोबार रकममा पनि उछाल आउनेक्रम जारी छ । लगानीकर्ताको उत्साहमा कत्ति पनि कमी देखिएको छैन । वाणिज्य बैंक समूहको सूचकमा सोमबार केही 'करेक्सन' आए पनि बीमा लगायतका समूहहरुमा तेजी जारी छ ।

जति बढी आपूर्ति भए पनि बजार धमाधम खपत गरिरहेको ब्रोकरहरुको भनाइ छ । अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ । घरमै बसेर आफैंले सेयर किनबेच गर्नसक्ने भएका छन् । यसबाट कारोबार रकममा अझै उछाल आउन सहयोग पुगेको हो । सस्तो ब्याजदरले पनि सर्वसाधारण लगानीकर्ताको आकर्षण सेयरबजारमा थप विस्तार भएको हो ।

नेप्से सूचक २८.७९ अंकले बढेर १९९७.०५ विन्दुमा आइपुगेको छ । १९८ कम्पनीको ८ अर्ब ८६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ५१ लाख ९१ हजारभन्दा बढी कित्ता कारोबार भएको छ । 

कुल १२ समूहको सेयर कारोबाार भएकामा ४ वटा समूह तल झरेका छन् भने बाँकी समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ८२३.३५ अंकले बढेको छ ।

प्रकाशित मिति: : 2020-11-30 15:31:00

प्रतिकृया दिनुहोस्