नेकपा बैठकमा दुई अध्यक्षबीच भनाभन, ओलीमाथि खनिए प्रचण्डसहित चार नेता

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपपत्र बैठकको एजेन्डा कुन नसक्ने बताएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीविरुद्ध एकजुट भएर प्रस्तुत भएका छन् । 

उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डको समर्थन गरेपछि बैठकमा भनाभन भएर स्थगित भएको छ । 

अध्यक्ष ओलीले बैठक सुरु भएको बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै भनेका थिए, 'आजको एजेण्डाचाहिँ के हो नि ?' 
कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव 'लाञ्छनापत्र' मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । ओलीले यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने बताए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई बुकलेटका रुपमा छापेर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने अडान राखे । ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए । 

ओलीले सहमतिका आधारमा अगाडि नबढ्दा पार्टीएकता कायम रहन नसक्ने बताउँदै भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’

बैठकको सुरुमा केहीबेर बोलेका ओलीले प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने । त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसेर खिल्ली उडाएको त्यो देखेपछि ओलीले भने, ‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु ।’
अध्यक्ष ओलीले भने, 'जे मन लाग्यो त्यही बोल्ने ?' 

त्यसपछि प्रचण्ड पनि जंगिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ कराए, ‘बोल्न पनि नपाइने ?’ वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले पनि ओलीको विरोध गरे । उपाध्यक्ष वामदेव गौतमले मौन बसेर हेरिरहेका थिए । 
नेताहरुले एकसाथ लागेर ओलीको विरोध गरेपछि प्रचण्डले आफ्ना कुराहरु राखे । ‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे ।

सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्नै उठाउन आवश्यक नरहेको बताए । बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुर्नैपर्ने नेता नेपालले बताए । उपाध्यक्ष गौतमले भने, 'छलफल त सुरु भएको र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो ।'

वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए । 

त्यसपछि प्रचण्डले फेरि बोले । बहस र छलफल गरेर पार्टीलाई एउटा निष्कर्षमा पुर्‍याउन चाहेको उनले बताए । आफूहरुले २२ कात्तिकमा सचिवालय बैठकका लागि सहमति माग गर्दै पत्र बुझाएको, तर ओलीले १० पन्ने जवाफ लेखेर फायर खोलेको प्रचण्डले बताए । र, आफूले त्यसको प्रतिवाद मात्र गरेको प्रचण्डले बैठकमा बताएका थिए ।

प्रचण्डले केपी ओली कुण्ठाग्रस्त र व्यक्तिवादी भएको भन्दै आलोचना गरेका छन् । ओलीले ३८ पृष्ठको प्रस्तावमा ओलीले आफूमाथि लगाएका आरोप र उठाएका प्रश्नहरुको बुँदागत रुपमा लिखित जवाफ दिने प्रचण्डले बताए । 

मंगलबारको बैठकमा भनाभन मात्रै भयो, प्रचण्डले ओलीको डकुमेन्टको औपचारिक जवाफ पेश गरेनन् । बैठक भोलि १ बजे बस्ने गरी स्थगित भएको प्रचण्डले अन्तिममा जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2020-12-01 19:20:00

प्रतिकृया दिनुहोस्