काेराेना परीक्षणमा हेलचक्रयाई: पीसीआर गर्दा १५ प्रतिशत संक्रमण, एन्टिजेनमा ८ प्रतिशत मात्र !

दीप सुवेदी

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

 काठमाडौं उपत्यकामा सुरु भएको एन्टिजेन टेष्ट दुई दिनमै रोकिएको छ। 

ईपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार सोमबारदेखि एन्टिजेन विधिबाट कोरोनाको परीक्षण थालिएको थियाे।

संक्रमितको पहिचान गर्न छिटो र सजिलो हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो परीक्षणलाई प्राथमिकता दिएको थियाे। 

साेही अनरुप सोमबार र बुधबार गरी दुई दिनमा १५ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

‘दुई दिनमा ३ हजार नमुना संकलन गर्ने लक्ष्य थियाे। तर जनशक्ति अभावकाे कारण १५ सय मात्र गर्न सकियो, त्यसमा १ सयको हाराहारीमा पोजेटिभ आयो छ’, महाशाखाका प्रमुख वासुदेव पाण्डेले बिएल नेपाली सेवालाई भने।

कोरोनाको परीक्षणमा यो विधिको प्रयोग सन् २०२० को सुरुवातबाटै विश्वभर नै विवादको विषय बनेको थियाे। 

विश्वका धेरै देशमा याे विधि प्रयाेग भएपनि एन्टिजेनले दिने नतिजा विश्वसनीय नभएको भन्दै धेरै मुलुक यसबाट पछि हटेका थिए।

त्यतिखेर एन्टिजेन किटमा टेस्ट सेन्सिभिटी औसतमा ५० देखि ८० प्रतिशतमात्र हुने देखिएकाे थियाे। 

तर विश्वले अस्वीकार गरेकाे चीन उत्पादन गरेकाे एन्टिजेन किट नेपाल भित्रिएकाे छ। चीनका कुनैपनि ल्याबमा यो किटबाट कोरोनाको परीक्षण नगरिएकाे समाचार प्रकाहित हुँदाहुँदै सरकारले यसलाई प्रमाेट गरेकाे छ।

सरकारकै निर्णयअनुसार राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्थानीय तहसँग मिलेर परीक्षण गरिएको पाण्डे बताउछन्।

उनका अनुसार सोमबार कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो।

यसका साथै बुधबार १०, १४ र १६ वडाको परीक्षण गरिएको थियो।

उनका अनुसार थोरै समयमा धेरै नमुना परीक्षण गर्न सकिने, सस्ताे र  छिटो नतिजा आउने भएका कारण यो परीक्षणलाई प्रयोगमा ल्याएको हाे। 

‘एन्टिजेन विभिन्न सरुवारोगको नतिजा परीक्षणमा प्रयोग हुने एउटा विधि हो। किटद्वारा परीक्षण गरिने यो विधिमा नतिजा चाँडो आउँछ। पीसीआर परीक्षण भन्दा याे सस्ताे हुने भएकाले नेपालका लागि प्रयाेग गर्न सकिन्छ,’ उनले भने। 

तर पीसीआर गर्दा १५ प्रतिशत संक्रमण देखिएको बेला एन्टिजेनमा ८ प्रतिशत मात्र देखिएकाे उनकाे भनाइ छ। 

पाण्डेले भने, ‘अहिले प्रयोग भइरहेका एन्टिजेन किटहरु विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त हाे। अब स्थानीय पालिकाका प्रतिनिधि र एनएचआरसीसँग छलफल गरेपछि हामी फेरि एन्टिजेन टेष्ट सुरु गर्छौं।’

पाण्डेका अनुसार ५०० भन्दा बढी केस भएका स्थानलाई हटस्पट मानिएको छ। त्यस्ता स्थानहरुमा संक्रमितको कन्ट्याक्टमा आएकाहरुको परीक्षण गर्ने योजना छ।

यद्यपि, एन्टिजेनको रिपोर्टलाई सरकारले भने मान्यता दिएकाे छैन।

लक्षण नदेखिएका कुनैपनि कोरोना संक्रमितको नतिजा एन्टिजेनले पोजिटिभ देखाउन सक्दैन। एन्टिजेन परीक्षणबाट कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गर्ने गरिन्छ। परीक्षणको नमुनामा प्रोटिन देखिए शरीरमा कोरोना भाइरसको संक्रमण रहेको मानिन्छ।

यता सरकारले एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क पनि ताेकिसकेकाे छ।

स्वास्थ्य मन्त्रालयले अधिकतम एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ। प्रवक्ता डा जागेश्वर गाैतमका अनाुसार याे परीक्षण शुल्क समयानुकुल परिमार्जन हुँदै जाने छ।

‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड–१९’को चौथो संशोधनबाट उक्त व्यवस्था गरिएको प्रवक्ता गाैतमले जानकारी दिए। 

प्रवक्ता डा. गाैतमले भने, ‘एन्टिजेन परीक्षणका क्रममा मान्यता प्राप्त किटहरु मात्रै प्रयोग गर्न पाइने छ। परीक्षणका लागि एफडीए, ईयुए मान्यता प्राप्त किटहरु र स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएका किटहरु सूचीकृत हुनु पर्नेछ।’

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्रै एन्टिजेन टेस्ट गर्न पाउने छन्। परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिम हुनेछ।

प्रकाशित मिति: : 2020-12-03 22:39:00

प्रतिकृया दिनुहोस्