नेकपा सचिवालयले समाधान गर्न नसकेको विवाद स्थायी कमिटीमा लग्ने निर्णय, स्थायी कमिटी भोलि १ बजे बस्ने

बिएल संवाददाता

काठमाडाै‌ं


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र देखिएको विवाद सचिवालयबाट समाधान नभएपछि पार्टी स्थायी कमिटी बैठकमा छलफल गरिने भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार करिव ४ घण्टा बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए। 

श्रेष्ठले स्थायी कमिटीको बैठक आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जानकारी दिए। 

सचिवालय बैठकअघि पौनै १२ बजे नै कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। उनले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अलीसँग करिब एक घण्टा छुट्टै छलफल गरेका थिए। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित भएका थिए। मंसिर १७ गतेका लागि तय भएको सचिवालय बैठकमा भने ओली सहभागी नभएपछि बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको थियो। 

कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा एउटा लिखित प्रस्ताव पेश गरेका थिए। 

मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको खण्डन गर्दै प्रत्युत्तरमा राजनीतिक प्रस्ताव पठाएका थिए। २ वटा राजनीतिक प्रस्ताव पेश भएपछि नेकपा विवाद जटिल मोडमा पुगेको थियो।

प्रकाशित मिति: : 2020-12-05 18:51:00

प्रतिकृया दिनुहोस्