प्रधानाध्यापक श्रेष्ठको हत्याको जिम्मेवारी लिँदै विप्लव समूहले भन्याे– नसुध्रीएपछि मार्‍याैं

तेजन खड्का

उर्लाबारी, माेरङ

मोरङको मिक्लाजुङ १ विभत्स तरिकाले हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको जिम्मेवार प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ। 

स्थानीय सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्याबारे विप्लव नेतृत्वको नेकपाका मेची/कोसी व्यूरो इन्चार्ज प्रतापले मंगलबार एक विज्ञप्ति जारी गर्दै हत्याको जिम्मेवारी लिएका हुन्। 

श्रेष्ठले आफूहरुविरुद्ध सुराकी गर्दै आएकाले हत्या गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

विज्ञप्तिमा भनिएको छ,‘पटक पटक चेतावनी दिँदा पनि हामीविरुद्ध सुराकी गरेर नेता कार्यकर्तालाई गिरफ्तार गराइरहेका थिए’,सच्चिन आग्रह गर्दा नसुध्री उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको हो ।’

प्रधानाध्यापक श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची/कोसी बैठकका क्रममा प्रहरी बोलाएर दमन गराउन भूमिका खेलेको आरोप विप्लव समूहले लगाएको छ ।  

श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौं भन्दै आतंकित पारेको विज्ञप्तिमा भनिएको छ । 

इन्चार्ज प्रतापले आफूहरुद्वारा गठित सेनाविरुद्ध पनि सशस्त्र प्रहरी लगाएर सर्च अप्रेसन चलाएको आरोप प्रधानाध्यापक श्रेष्ठमाथि लगाएका छन्। 

श्रेष्ठकै सुराकीका आधारमा मेची/कोसी व्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराउनुका साथै पार्टीको महत्वपूर्ण दस्तावेज र एक लाख रुपैयाँ ‘लुट्न’ सघाएको दाबी पनि प्रतापले गरेका छन्। 

आफूहरुविरुद्ध सुराकी गरेको थाहा पाएपछि गत साउनदेखि नै सुध्रिन पटक पटक आग्रह गर्दा पनि उनले नटेरेको पनि विप्लव समूहले जिकिर गरेको छ । 

‘हामीले पटक पटक सम्झाउँदा पनि उनले उग्र गतिविधि गरिरहेका थिए। यस पटक पनि सम्झाउने क्रममा हतियारसहित आक्रमण गरेकाले प्रतिकारका क्रममा ज्यान गएको हो’, प्रतापले अन्तिममा भनेका छन्। 

यसअघि ५४ वर्षीय श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले दिएका थिए। 

यसैबीच, विप्लव समूहले हत्या गरेका शिक्षक श्रेष्ठको शव धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-12-08 22:08:00

प्रतिकृया दिनुहोस्