१०० दिनमा १० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने वाइडेनकाे वाचा

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनले १०० दिनमा १० करोड नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने बताएका छन्।

सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने पनि कोरोनाको हालको अवस्थामा धेरै परिवर्तन आउने वाइडेनले बताए।

वाइडेनले स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता साबिएर बेकेरालाई प्रस्तावित गरेको घोषणा गर्दै  भने, ‘मेरो कार्यकालको पहिलो १०० दिनले भाइरसलाई अन्त्य गर्ने छैन, म त्यो वाचा गर्न सक्दिन। तर अवस्था सुधार हुनेछ।’

उनले पुनः मास्क लगाउन आग्रहसमेत गरे।

वाइडेनले भने,‘म पुनः अमेरिकीसँग आग्रह गर्छु १०० दिन मास्क लगाउनु होला।’

अमेरिकामा एक करोड ५० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन्। यस्तै दुई लाख ८५ हजार भन्दा बढिको ज्यान गएको छ।

अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरुले बताएका छन्। 

यसलाई नियन्त्रण गर्न फाइजर र बायोएनटेकको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ।

हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकीहरु खोप लगाउनका लागि तयार छन्।

तेस्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ। 

यता बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ। 

अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ।

प्रकाशित मिति: : 2020-12-09 07:24:00

प्रतिकृया दिनुहोस्