सन् १९८२ विश्व कपका हिरो इटालीका पूर्व स्टार खेलाडी पाब्लो रोसीको ६४ वर्षको उमेरमा निधन भएको छ।
रोसीकी श्रीमती फेडेरिका कापेलेटीले निधनको जानकारी दिँदै इन्स्टाग्राममा दुवैको फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘सधैका लागि।’
उनले फेसबुकमा ‘तिमी जस्तो अरु हुनसक्दैन, युनिक, स्पेशल, तिमीबाहेकको जीवन अधुरो रहनेछ,’ लेखेकी छिन्।
रोसीको निधन के कारणले भयो, त्यो अझै सार्वजनिक भएको छैन। तर, इटालीको पत्रिकाले उनी निको नहुने बिरामीबाट जुँधिरहेको बताएका छन्। स्पेनमा भएको विश्व कपमा अजुरीलाई उपाधि दिलाएका रोसीले त्यही वर्ष उत्कृष्ट खेलाडीको सम्मान पाएका थिए। यसअघि उनी सट्टेबाजीको आरोपमा तीन वर्ष प्रतिबन्धमा परेका थिए।
‘फुटबल र इटालीले पाब्लो रोसीको निधनमा दुःख प्रकट गर्दछ,’ इटालीबाट प्रकासित गाजेटा डेलो स्पोर्ट्सले लेखेको छ, ‘हिरो अफ स्पेन–८२’।
सन् १९८६ विश्व कपका हिरो अर्जेन्टिनाका महान खेलाडी डिएगो माराडोनाको निधन भएको दुई साताको अवधिमा अर्को महान खेलाडीको निधन भएको हो।
रोसीले इटालीका समर्थकहरूको मुटु त्यतिबेला जितेका थिए, जब उनले १९८२ मा इन्जो बेर्जोटको अजुरीलाई तेस्रो विश्व उपाधि जिताउन गोल गरेका थिए। इटाली प्रतियोगिताको सुरुवातमा तीन वटा ड्र खेल्दै गम्भीर अवस्थामा थियो। तर, रोसीको उत्कृष्ट खेलका कारण इटाली पुनः उपाधिको दौडमा फर्किएको थियो।
विश्व कप टिममा सहभागी हुनुअघि १९८० मा उनी घुस लिएर खेलेको आरोपमा तीन वर्षका लागि प्रतिबन्धित भएका थिए। तर, पछि उनी आफ्नो निर्दोसिता प्रमाणित गर्न सफल भए। त्यसैले उनलाई दुई वर्षभित्रै विश्व कप टोलीमा समावेश गरिएको थियो।
रोसीले समूह चरणको खेलमा ब्राजिललाई ३–२ ले पराजित गर्न ह्याट्रिक गोल गरेका थिए। सेमिफाइनलमा पोल्याण्डलाई २–० ले पराजित गर्दा उनले दुवै गोल गरेका थिए। फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गरेको खेलमा उनले पहिलो गोल गरेका थिए।
१९८२ को विश्व कपमा उनी सर्वाधिक गोलकर्ता थिए। उनले कूल ६ गोल गरे। सन् १९७८ मा चौथो स्थानमा रहेको इटालीको टिममा पनि उनी समावेश थिए। उनीसँग विश्व कपमा क्रिस्टियन भियारी र रोबर्टो बाजियो बराबर नौ गोल गर्ने कीर्तिमान छ।
उनले इटालीबाट ४८ अन्तर्राष्ट्रिय खेल खेल्दै २० गोल गरेका थिए। उनी १९८२ मा युरोपका उत्कृष्ट फुटबल खेलाडी पनि घोषित भएका थिए।