भारतमा किसान सडकमा, अमेरिकामा खालिस्तान राज्यको माग

संजोग आचार्य

न्युयोर्क

सन् १९८० ताका भारतमा तीब्र रहेको खालिस्तानको माग फेरि अमेरिकी सडकमा उठेको छ। भारत सरकारले हालै संसदबाट पास गरेको किसान विधेयकको विरोधमा अमेरिकाको राजधानी वासिङ्टनमा नाराबाजी भएको छ।  

भारतको शिख समूदायले शनिबार निकालेको भनिएको यो जुलुसमा किसान कानुनको बिरोध मात्र भएन, राष्ट्रपिता महात्मा गान्धीको मूर्तिलाई पनि नोक्सान पु¥याइएको छ। प्रदर्शनमा खालिस्तानको झण्डा प्रदर्शन गरिएको थियो। 

शनिबार भएको प्रदर्शनमा भारतीय दुतावास नजिकै रहेको गान्धीको मूर्तिमा स्प्रेमार्फत पेन्ट गरिएको छ। प्रदर्शनकारीले गान्धीको अनुहार खालिस्तानको झण्डाले छोपेका थिए। 

भारतमा १८ दिनदेखि भइरहेको किसान कानुनको बिरोधलाई क्यानडाका प्रधानमन्त्री जस्टिन थ्रुडोले यसअघि नै समर्थन जनाइसकेका छन्।

उनले यसै साता एउटा विज्ञप्ती सार्वजनिक गर्दै शान्तीपूर्ण ढंगले भइरहेको किसान आन्दोलनमा हस्तक्षेप नगर्न भारत सरकारलाई आग्रह पनि गरेका थिए। यस विषयमा क्यानडास्थित भारतीय दुतावासले आपत्ति जनाइसकेको छ। 

भारतको पञ्जाबी बाहुल्य क्षेत्रले छुट्टै देशको मान्यता पाउनुपर्ने मागसहित ८० को दशकमा खालिस्तान आन्दोलन उच्च बिन्दुमा पुगेको थियो। वास्तवमा भारत र पाकिस्तान स्वतन्त्र हुनुपूर्व नै पञ्जाबीहरूको छुट्टै राज्य हुनुपर्ने माग उठेको थियो। 

तर, १९४७ मा भारत–पाकिस्तान छुट्टिदा पञ्जाबी बाहुल्य केही ठाउँ पाकिस्तान र अन्य भाग भारतमा परेको थियो। यी दुबै ठाउँ जोडेर छुट्टै देश बन्नुपर्ने मागसहित ८० को दशकमा जर्नेल सिंह भिण्डरवालाको अगुवाईमा हिंसात्मक आन्दोलन सुरु भएपछि तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘अपरेशन ब्लुस्टार’लाई स्विकृति प्रदान गरेकी थिइन। यही अपरेशनमा भिण्डरवाला १९८४ को जुनमा मारिएका थिए। 

तर, यसको बदलास्वरुप इन्दिरा गान्धीको पनि त्यही वर्ष अक्टुबरमा आफ्नै निवासमा शिख बडिगार्डबाट हत्या भएको थियो। 

भारतमा हाल जारी किसान आन्दोलनमा भिण्डरवालाको सपना पुरा गर्न बाँकी रहेको भन्दै केही शिखहरू सडकमा उत्रिएका थिए। भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा भारतमा मात्र होइन,यतिबेला विश्वभरि प्रदर्शन भइरहेको छ। 

यही डिसेम्बरको सुरुमा लन्डनमा पनि भारतीय दुतावासअगाडि प्रदर्शन भएको थियो। अमेरिकामा यसअघि पनि महात्मा गान्धीको मूर्तिमा तोडफोड भएको थियो। गत ३ जुनमा काला जातिका नागरिक जर्ज फ्लोयडको हत्याको बिरोधमा निस्किएको प्रदर्शनमा केही मानिसले गान्धीको मूर्ति तोडफोड गरेका थिए। तर, यसलाई तुरुन्त बनाइएको थियो। 

डिसीमा रहेको यो मूर्तिको अनावरण १६ सेप्टेम्बर २००० मा तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको उपस्थितिमा अनावरण गरेका थिए। मूर्ति तोडफोडको घटनालाई लिएर राज्यका उपसचिव स्टिफन बेजगुनले माफी मागेका छन्। 

भारतमा किसान आन्दोलनले उग्र रूप लिइरहेको अवस्थामा अमेरिकामा यसको असर देखिन थालेको छ। विशेषत शिख समूदाय किसान कानुनको विरोधको बहानामा छुट्टै देशको माग गर्दै आन्दोलनमा उत्रिन थालेका छन्।

प्रकाशित मिति: : 2020-12-13 08:52:00

प्रतिकृया दिनुहोस्