अध्यक्ष ओली नगएपछि अझै सुरु भएन नेकपा स्थायी कमिटी बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको स्थायी कमिटीकाे १ बजेका लागि डाकिएकाे बैठक अझै सुरु हुन सकेको छैन।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समितिकाे सदस्यहरु बालुवाटार पुगिसकेकाे भएपनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण बैठक सुरु हुन नसकेकाे हाे। 

केहीबेर अगाडि सकिएकाे बैठकमा ओली र प्रचण्ड बीच ‘वान टु वान’ वार्तामा ओलीले बैठक सार्न आग्रह गरेका थिए। तर, उनले आफूमाथिकाे लाञ्छनापत्र हुने छलफलमा सहभागी नहुने आफ्नाे अडान सुनाएका थिए।

ओलीले प्रचण्डकाे १९ पुष्ठकाे राजनीतिक प्रस्तावलाई लाञ्छनापत्रकाे संज्ञा दिँदै आइरहेका छन्।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभागका उपप्रमुख समेत रहेका सूर्य थापाले पनि बैठक सुरु नभएको बताए। ‘बैठक सुरु पनि भएको छैन र उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) पनि सहभागी हुनु भएको छैन,’ बिएल नेपाली सेवासँग भने। 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदमा विपक्षी दलका नेता तथा सभामुखको उपस्थिति बिनै पनि संवैधानिक निकायमा महत्वपूर्ण नियुक्तिका लागि सफारिस गर्न सक्ने अधिकार प्राप्त गर्ने अध्यादेश जारी गराएका थिए।

यसले शक्ति सन्तुलन र लोकतान्त्रिक एवम् संवैधानिक व्यवस्थामाथि गम्भीर प्रहार भएको भन्दै ओली र राष्ट्रपति भण्डारीको सत्ता भित्रै र बाहिरबाट तीव्र आलोचना भइरहेको छ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले अध्यादेश ल्याउने ओलीको कदमको चर्को आलोचना गरिरहेका छन्।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य मंगलबार साँझ प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए। उनीहरुले संसद अधिवेशन नबोलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु संवैधानिक भावना विपरित भएको निष्कर्ष निकालेकाे थियाे।

 

प्रकाशित मिति: : 2020-12-16 13:45:00

प्रतिकृया दिनुहोस्