वाइडेनले लगाए कोरोना भाइरसविरुद्धको खोप

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

वाइडेनले डेलवरको नेवार्कमा फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन्। उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो।

खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको वाइडेनले बताएका छन्।

उनले खोप लगाउने क्रममा भने, ‘उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर मैले यस्तो गरेको हुँ। खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण छैन।’

वाइडेनकी श्रीमती डा. जिल वाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन्। यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ।

एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो। अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन्। 

अमेरिकामा आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ।

वाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ।

देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनु पर्ने पनि वाइडेनले बताए।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ। यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-12-22 07:26:00

प्रतिकृया दिनुहोस्